जनता टाइम्स

२५ आश्विन २०८२, शनिबार ०८:१०

एमाले सचिवालय बैठकमा विद्या भण्डारीको सदस्यता नविकरणको पक्षमा उभिए सबै उपाध्यक्ष


काठमाडौं, असोज २५ । नेकपा एमालेका सबै उपाध्यक्ष पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण र पार्टीमा स्वागत गर्नुपर्ने पक्षमा उभिएका छन् । शुक्रवारबाट सुरु भएको सचिवालय बैठकमा आफ्नो धारणा राख्दै उपाध्यक्षहरूले पार्टी सदस्यता नवीकरण रोक्ने निर्णय सच्याएर भण्डारीलाई ‘वेलकम’ गर्नुपर्ने पक्षमा उभिएका हुन ।

शुक्रवारको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गुरु बराल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो धारण राख्नुभएको छ ।

सो क्रममा महासचिव पोखरेल र उपमहासचिव ज्ञवालीबाहेक सबैले भण्डारीलाई पार्टीमा ‘वेलकम’ गर्नुपर्ने बताउनु भएको एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार उपाध्यक्षहरूले जेनजी आन्दोलनपछि संविधानमा स्पष्ट किटान भइसकेको व्यवस्था उलङ्घन गरी पूर्वप्रधानन्यायाधीश नै प्रधानमन्त्री बनिसकेको अवस्थामा संविधानले नरोकेको पूर्वराष्ट्रपतिलाई पार्टीमा रोक्ने कुराले एकताबद्ध हुन अवरोध गर्ने भन्दै भण्डारीलाई सदस्यता दिनुपर्ने तर्क गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू ज्ञवाली र पाण्डे यसअघिको केन्द्रीय कमिटीको नवौँ बैठकमा नै भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा मत राख्नुभएको थियो । शुक्रवारको बैठकमा अन्य उपाध्यक्षहरू पनि सदस्यता नवीकरणको पक्षमा उभिनुभएको हो । ‘तीनै जनाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय सच्याउनुपर्ने धारणा राख्नुभएको ती नेताको भनाई छ ।

‘पूर्वराष्ट्रपतिले पार्टीमा फर्किएर काम गर्न चाहनु हुन्छ भने ‘वेलकम गरौँ,’ बैठकमा उपाध्यक्ष पौडेलसहित यसअघि नवीकरण गर्न नहुने पक्षमा उभिएका उपाध्यक्षहरूको भनाई थियो । उपाध्यक्ष थापाले पनि भण्डारीको सदस्यतालाई रोकेर पार्टीलाई फाइदा नहुने तर्क गर्नुभएको छ ।

‘पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यतालाई लिएर पार्टीभित्रको मनोविज्ञान विभाजित बन्यो । अहिले पार्टीभित्र एकता चाहिएको छ, उहाँले (विद्या भण्डारी) चाहनु हुन्छ भने सदस्यता नवीकरण गरेर काम गर्ने अवसर दिऔँ,’ थापाको प्रस्ताव थियो ।

एमालेको सचिवालय बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, गोकर्ण विष्ट, योगेश भट्टराई, पदमा अर्यालले आफ्नो धारणा राख्न बाँकी रहेको छ ।