जनता टाइम्स

२५ आश्विन २०८२, शनिबार १४:४७

जेनजी युवाहरूसँग छलफलका बिच राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ, मनमोहन कार्डियो थोरासिकमा स्वास्थ्य परीक्षण


काठमाडौं, असोज २५ । जेनजी युवाहरूसँग छलफलकै क्रममा राष्ट्रपति रामचन्द्र पौडेल अचानक अस्वस्थ हुनुभएको छ। शनिबार बिहान २२ जना जेनजी युवा अगुवाहरूसँग शीतल निवासमा भेटवार्ता भइरहेकै बेला उहाँको स्वास्थ्यमा समस्या देखिएको हो।

अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखा परेपछि राष्ट्रपतिलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गतको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको जनाइएको छ। अस्पताल स्रोतका अनुसार अहिले उहाँको स्वास्थ्य परीक्षण भइरहेको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको बताइए पनि चिकित्सकहरूले थप परीक्षणका लागि अस्पतालमै निगरानीमा राखेका छन्। यसैबिच, जेनजी युवाहरूसँगको वार्ता स्थगित गरिएको छ। वार्ता भोलि हुने भएको छ ।

शीतलनिवासका अनुसार राष्ट्रपति पौडेल केही समयदेखि लगातार व्यस्त कार्यतालिकामा रहनु भएकाले स्वास्थ्यमा सामान्य समस्या देखिएको हो। उहाँलाई चिकित्सकहरूको टोलीले निरन्तर निगरानीमा राखेको बताइएको छ।