जनता टाइम्स

२५ आश्विन २०८२, शनिबार १७:१७

देउवालाई शशाङ्क कोइरालाको प्रस्ताव : तत्काल कार्यवाहक सभापति तोकेर केन्द्रीय कार्यसमिति विघटन गर्नाेस्


काठमाडौं, असोज २५। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न र कार्यवाहक सभापति तोक्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा शनिवार सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले यस्तो बताउनु भएको हो । ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ । मैले शेरबहादुरजीलाई भने– यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस्,’ कोइरालाले भन्नुभयो ।

कोइरालाले कार्यवाहक सभापति तोकेपछि उसैले केन्द्रीय समिति गठन गर्ने पनि बताउनु भयो । ‘एक जनालाई कार्यवाहक सभापति दिनुस् । उनले गठन गर्दछन् । र उनले मिति तय गर्दछन् । मलाई लाग्दछ–मङ्सिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो,’ कोइरालाको भनाई थियो।

कांग्रेस नेता कोइरालाले आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरूलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । मङ्सिरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।