जनता टाइम्स

२६ आश्विन २०८२, आईतवार ०७:३४

जेन–जी आन्दोलनमा बाइक पड्काएर माहौल बिगार्ने समूहको पहिचान खुल्यो, अनुसन्धान गर्दै प्रहरी


काठमाडौं, असोज २६ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा कालो टिसर्ट लगाएर बाइकको साइलेन्सरको आवाज पड्काउँदै एक समूह आएपछि माहौल एकाएक खराब भएको केही सहभागीको सूचनाको आधारमा खोजीमा खटिएको गुप्तचर र प्रहरीको अनुसन्धान गर्ने निकायले समूहको पहिचान खुलायो टिओबी ब्लड।

फेसबुकमा टिओबीको अर्थ तिब्बेतियन ओर्जिनल ब्लड लेखिएको छ। त्यसको उद्देश्यमा यो फ्री तिब्बतको पक्षमा छलफल गर्ने लेखिएको छ। फेसबुकमा भेटिएको समूहको पेजमा प्रस्टै यो समूहको उद्देश्य स्वतन्त्र तिब्बतसँग देखिन्छ। तर फेसबुकमा भेटिएको समूहमा भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन सम्बन्धी कुनै सामग्री फेला परेन। तर इन्स्ट्राग्राममा सोसल ग्रुप भन्दै टिओबी ब्लड मात्र लेखिएको छ।

आन्दोलनमा सहभागी समूहका केही सदस्यहरूको टिसर्टमा टिओबीसँगै तिब्बतीयन ओर्जिनल ब्लडसमेत लेखिएको छ। यो तिब्बत चीनले लिएपछि विस्थापित भएर विभिन्न देश पुगेका तिब्बतीमूलका नागरिकहरूले प्रयोग गर्ने सङ्केत हो। इन्स्ट्राग्रामको समूह भदौ २३ र २४ को आन्दोलनमा प्रत्यक्ष संलग्न मात्र नभई आन्दोलन अगाडिको नेपोबेबी अभियानदेखि नै सक्रिय रहेको देखियो। यही समूह सहभागी भएको प्रदर्शनमा कालो झन्डा बोक्ने र टिसर्टमा टिओबी तिब्बतीयन ओर्जिनल ब्लड लेखिएको टिसर्ट लगाएकाहरू समेत सहभागी देखिए। उनीहरूले हाम्रो देश, हाम्रो राज नारा लगाएका थिए।

कालो टिसर्टमा सेतो अक्षर प्रयोग भएकोमा हाकिम टिओबी लेखिएको छ। अर्को कालै टिसर्टमा लेख्दा सुनौलो रङ्ग प्रयोग गरिएको छ। यसमा भने टिओबीसँगै तिब्बतीय ओर्जिनल ब्लड लेखिएको छ। दुवैको कलर फरक भए पनि लोगो भने समान देखिन्छ।

प्रदर्शनको माहौल बिगार्ने समूहको टिसर्टमा टिओबी लेखिएको सूचनासँगै सुरक्षा निकायका अधिकारीहरूले अर्को पहिचानका रूपमा हातमा विशेष प्रकारको ट्याटुहरू रहेको जानकारी पाएको खुल्यो। यी सबै विवरण इन्स्ट्राग्राममा भेटिएको टिओबी ब्लड नामक समूहसँग मिल्छ। यसका अधिकांश सदस्यहरूको शरीरका भागमा ट्याटु देखिन्छ।

सो समूहको नेतृत्वकर्ता देखिए तेन्जिङ दावा, उनी ट्याटु आर्टिष्ट समेत हुन्। उनी टिओबी ट्याटु स्टुडियोमा संलग्न देखिए। सो समूहको सदस्य दाबी गर्दै इन्टाग्राममा भिडियो पोस्ट गरेका बिराज खड्काले भाइ बहिनीहरूले आन्दोलनमा सहयोग मागेपछि दावा दाइको नेतृत्वमा आफूहरू आन्दोलनमा सहभागी भएको तर कुनै तोडफोड नगरेको दाबी गरेका छन्।

सो समूहबारे अनुसन्धान गरिरहेका एक सुरक्षा अधिकारीले आन्दोलनको दिनमा बाइक लिएर भिडमा जाने, साइलेन्सर पड्काएर माहौललाई आतङ्कित बनाउने लगायतका गतिविधिमा सो समूहका सदस्यहरू संलग्न देखिएको र अन्य तोडफोड र हिंसामा उनीहरूको संलग्नताबारे अनुसन्धान जारी रहेको बताएका छन् । ुसो समूह अनुसन्धानै छ। तर उनीहरूको संलग्नता कुन–कुन घटनामा छ भन्ने खुलिनसकेकाले सबै पक्षबारे अनुसन्धान भइरहेको छु–ती सुरक्षा अधिकारीले भन्नुभयो । जेन–जी आन्दोलनको पहिलो दिन पानी बाँड्न स्वयंसेवकको रूपमा आन्दोलनमा खटिएका हामी नेपालका सुधन गुरुङ अहिले जेनजी समूहको नेतृत्वको रूपमा राजनीतिक गतिविधिमा संलग्न छन्। उनी सरकार बनाउन प्रधानसेनापति अशोकराज सिग्देलले राखेको बैठकदेखि अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीको शपथ कार्यक्रमसम्ममा सहभागी थिए। पछिल्लो समय उनी सरकारी कार्यालयहरूमा पुगेर जेनजीको प्रतिनिधि दाबी गर्ने, गृहमन्त्रीसहितलाई दबाब दिने देखि शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्ने जेनजी समूहसँगै शीतल निवास पुगेका थिए। उनको संस्था हामी नेपालको सम्बन्ध प्रत्यक्ष रूपमा स्वतन्त्र तिब्बतको पक्षमा काम गर्ने संस्थासँग रहेको खुलिसकेको छ।