जनता टाइम्स

२६ आश्विन २०८२, आईतवार २१:२१

नेकपा एमालेकाे ११औँ महाधिवेशन मंसिरको अन्तिम साता हुने


काठमाडौं, असोज २६ । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशन मंसिर महिनाको अन्तिम साता गर्ने निर्णय गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा सम्पन्न पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनको मिति र स्थान भने केन्द्रीय कमिटीको बैठकले तोक्नेछ । उहाँले सचिवालय बैठकले आगामी राजनीतिक दिशाबारे समेत महत्वपूर्ण निर्णयहरू गरेको जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार बैठकले राजनीतिक स्थायित्वका लागि संवैधानिक मार्ग अपनाउन सरकारलाई आग्रह गरेको छ । अहिलकाे गतिविधिले सरकार चुनाव गराउने बाटाेमा अघि नबढेकाे निष्कर्ष बैठकले निकालेकाे उहाँले बताउनुभयाे । अदालत खुलेपछि प्रतिनिधि सभा पुनर्स्थापनाकाे मुद्दा लिएर जाने पनि उहाँले जानकारी दिनुभयाे ।

‘सरकार मुठभेडको बाटोतर्फ अघि बढिरहेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा सबै देशभक्त शक्तिहरूले एकताबद्ध भएर अघि बढ्न आवश्यक छ ।’

एमालेले पछिल्ला राजनीतिक घटनाक्रमका बीच संगठन सुदृढीकरण र नीति–कार्यक्रम पुनरावलोकनका लागि महाधिवेशनलाई निर्णायक मोडको रूपमा हेरेको जनाएको छ ।