रामेछाप, असोज २६ । रामेछापको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा हरेक हप्ताको सोमबार ‘निःशुल्क होलबडी चेकअप’ (पूर्ण शरीर स्वास्थ्य परीक्षण) हुने गरेको छ । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा परेको यो कार्यक्रम ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत सञ्चालन हुँदै आएको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणसँगै ल्याब सेवा, चिकित्सक परामर्श तथा औषधि वितरणसमेत निःशुल्क प्रदान गरिँदै आएको छ । ‘प्रत्येक सोमबार बिहानैदेखि स्वास्थ्यकर्मीहरूको टोलीले आगन्तुकको सम्पूर्ण शरीरको जाँच गर्छ, आवश्यक परे थप उपचार सिफारिस गरिन्छ,’ उहाँले भन्नुभयो ।
ल्याब असिस्टेन्ट सुमन चापागाईँका अनुसार चिकित्सालयको ल्याबमा रगत, दिशा र पिसाबको माध्यमबाट पहिचान गर्न सकिने विभिन्न रोगहरूको परीक्षण गरिन्छ । ‘ब्लड सुगर, युरिया, क्रियाटिनिन, बिलिरुबिन, एसजिपिटी, एएलपी, कोलेस्ट्रोल, ट्राइग्लिसराइड, एचडिएल, सिबिसी, हेमोग्लोबिन, ईएसआर र युरिन प्रोटिनलगायत १३ भन्दा बढी प्रकारका जाँच गरिन्छ,’ उहाँले बताउनुभयो ।
यी परीक्षणहरूले शरीरभित्रका महत्त्वपूर्ण अङ्गहरूको कार्यक्षमता बुझ्न सहयोग पुर्याउने चिकित्सालयकी डाक्टर सविता भण्डारीले बताउनुभयो । उहाँका अनुसार, ‘रगत परीक्षणबाट रक्तचाप, मधुमेह, मिर्गौला, कलेजो र मुटुसम्बन्धी रोगको प्रारम्भिक अवस्था पत्ता लगाउन सकिन्छ । साथै रगतमा चिनी, बोसो, अक्सिजन, रातो र सेतो रक्तकोषहरूको सन्तुलन तथा पित्तथैलीको अवस्था पनि पत्ता लाग्छ ।’
त्यस्तै पिसाब परीक्षणबाट शरीरमा प्रोटिनको असामान्य मात्रा पत्ता लगाइने र त्यसको आधारमा उपचार अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
चिकित्सालयका अनुसार यो सेवा लिन वाग्मती प्रदेशका बासिन्दा हुनु पर्ने सर्त रहेको छ । नियमित सोमबारका निःशुल्क परीक्षणबाहेक अन्य दिनहरूमा पनि चिकित्सालयले विभिन्न वैकल्पिक तथा परम्परागत स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ ।
यस अन्तर्गत निःशुल्क फिजियोथेरापी सेवा, बहिरङ्ग (ओपीडी) सेवा, अकुपञ्चर, पूर्वकर्म र पञ्चकर्म उपचार, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, स्तनपायी आमा कार्यक्रम लगायतका सेवा पनि उपलब्ध छन् । साथै आवश्यक औषधिहरू निःशुल्क वा सशुल्क वितरण गरिँदै आएको चिकित्सालयले जनाएको छ ।
स्थानीय बासिन्दाहरूले यस्तो कार्यक्रमले स्वास्थ्य सचेतना बढाएको र ग्रामीण क्षेत्रमा पहुँच नपुगेका बासिन्दालाई प्राथमिक स्वास्थ्य परीक्षणमा सहजता पुगेको बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्