जनता टाइम्स

२८ आश्विन २०८२, मंगलवार १४:४८

निर्वाचनका लागि भयरहित वातावरण नबनेको देउवाको दाबी, पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी


काठमाडौं, असोज २८। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी २१ फागुनका लागि घोषणा गरिएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको वातावरण अहिलेसम्म भयरहित र स्वतन्त्र नबनेकाे भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकमा शान्ति–सुरक्षाको ग्यारेन्टी हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन। निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सके मात्र सबै पक्ष सहभागी हुने अवस्था बन्छ, त्यसतर्फ सरकारको गम्भीर ध्यान जानु आवश्यक छ।’

देउवाले हालको राजनीतिक अवस्थाबारे आन्तरिक छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको बताउँदै देशमा बढ्दो असुरक्षा र आक्रोशप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक सहमति र संवादबिना मुलुकमा स्थायित्व आउन सक्दैन। सरकार जिम्मेवार र उत्तरदायी हुनुपर्ने बेला हो।’

देउवाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। आन्दोलनपछि पहिलोपटक सार्वजनिक रूपमा देखिनुभएका देउवाले उक्त आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो।

देउवा पत्नी आरजु राणा देउवासहित मंगलबार पार्टी कार्यालय सानेपा पुग्नुभएको थियो। जेनजी आन्दोलनका नाममा भएकाे आक्रमणमा दुवै जना घाइते भएका कारण देउवा लामो समय सार्वजनिक कार्यक्रममा देखिनुभएको थिएन।

देउवाको सम्बोधनपछि केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ। बैठक आगामी असोज ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको  हाे ।

अगामी बैठकको अध्यक्षता पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्नुहुने भएकाे छ।  देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी ताेक्नु भएकाे छ। देउवा स्वास्थ्य उपचारका लागि विदेश प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ। यसबीचमा केन्द्रीय कार्यसमितिका नियमित बैठक र निर्णयहरू कार्यवाहक सभापतिको नेतृत्वमा सञ्चालन गरिनेछन्।

यस्ताे छ देउवाकाे मन्तव्य :