काठमाडौं, असोज २८। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनालाई ‘देश, लोकतन्त्र र पद्धतिमाथि भएको सुनियोजित आक्रमण’ भएको टिप्पणी गर्नुभएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भए पनि त्यसमा घुसपैठ भई हिंसात्मक रुप लिएको बताउनुभयो। उहाँले भन्नुभयो – ‘गत भदौ २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो। निर्दोष नवयुवकहरूको ज्यान गयो। यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ।’
देउवाले भदौ २४ गते बिहानैदेखि देशका संवेदनशील प्रशासनिक तथा ऐतिहासिक संरचनामाथि भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीले नेपालको इतिहासमै एक डर लाग्दो दिनको रुपमा लिपिबद्ध भएकाे बताउनुभयाे। उहाँले भन्नुभयाे– ‘राष्ट्रपतिदेखि सिंहदरबार, संसद, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मालपोत, प्रदेश र स्थानीय निकायका कार्यालयहरूमा आक्रमण भयो। यसबाट अकल्पनीय जनधनको क्षति भयो। सम्भवत यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनका रूपमा रहला।’
देउवाले नेपाली कांग्रेस पनि उक्त आक्रमणको ठूलो शिकार बनेको उल्लेख गर्नुभयो। उहाँका अनुसार कांग्रेसका ४८ जिल्लाका कार्यालय, करिब १२५ जना नेताका निजी घर–डेरामा आक्रमण, लुटपाट र आगजनी भएको छ।
उहाँले विराटनगरस्थित कोईराला निवास, काठमाडौंको चाक्सीवारीमा रहेको गणेशमान सिंह निवास र ललितपुर बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रममा गरिएको आगजनीलाई ‘प्रजातान्त्रिक आन्दोलनका ऐतिहासिक प्रतीकहरूमाथिको असह्य आक्रमण’ भन्नुभयो।
देउवाले यी घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग गर्दै गर्नुभयाे । ‘यो आकस्मिक वा स्वतःस्फूर्त घटना होइन, सुनियोजित र योजनाबद्ध थियो भन्ने तथ्यहरू अब बाहिर आउँदैछन्। यसको निष्पक्ष अनुसन्धान हुनैपर्छ’, उहाँले भन्नुभयाे ।
देउवाले संकटपूर्ण घडीमा देखाउनुभएको परिपक्व भूमिकाका लागि राष्ट्रपति रामचन्द्र पौडेलप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो – ‘राष्ट्रपतिज्यूको हस्तक्षेप र संयमले मुलुकमा अर्को ठूलो संकट टर्यो। त्यसबेला उहाँको भूमिकाले देश स्थायित्वतर्फ फर्कियो।’
उहाँले आक्रमणको क्रममा आफ्नो घरमा भएको तोडफोड, लुटपाट र आगजनीबारे पनि बैठकमा जानकारी गराउनुभयो। देउवाले भन्नुभयाे – ‘भदौ २४ गते मेरो घरमा ज्यान लिने मनसायका साथ हमला भयो। सुरक्षाकर्मीको अथक प्रयासपछि हामी उद्दार भयौं। त्यसपछि झूटो प्रचार गरेर हाम्रो छवि गिराउने प्रयास भयो।’
देउवाले आफ्नो र परिवारको ज्यान जोगाउन सहयोग गर्ने सुरक्षाकर्मी र शुभेच्छुकप्रति आभार प्रकट गर्दै भन्नुभयो – ‘हामीलाई उद्दार गर्ने सुरक्षाकर्मी र शुभचिन्तकप्रति जीवनभर आभारी रहन्छु।’

देउवाले जेनजी समूहले अघि सारेका मागहरू जायज ठहर भए पनि घुसपैठकाे कारण देश बरबाद भएकाे बताउनुभयाे । ‘जेनजीले उठाएका सुशासन, भ्रष्टाचारमुक्त वातावरण र अभिव्यक्ति स्वतन्त्रताको मागलाई सम्बोधन गर्नैपर्छ। उनीहरूको मुलुकप्रतिको चासो र चिन्तालाई सुन्नु नै लोकतन्त्रको आधार हो’, उहाँले भन्नुभया े।
उहाँले आन्दोलन हिंसात्मक बन्नुमा बाह्य र आन्तरिक शक्तिहरूको योजनाबद्ध संलग्नता रहेको बताउनुभयाे। ‘देशका अंगहरूको मनोबल गिराउने काम भएको छ। अहिले हामी सबैले अदालत, प्रशासन, र सुरक्षासंस्थाको मनोबल उच्च राख्ने जिम्मेवारी लिने बेला हो,’ देउवाको भनाइ छ ।
देउवाले कांग्रेस पार्टीको आन्तरिक एकतालाई वर्तमान संकटको प्रमुख समाधान भएकाे ठहर गर्नुभयो। उहाँले भन्नुभयाे – ‘देश संकटमा छ, यस्तो बेला व्यक्तिगत वा समूहगत मतभेद गौण हुन्। सबै कुरा थाती राखेर एकतावद्ध हुनुपर्छ।’
उहाँले पार्टीको आगामी १५औं महाधिवेशनका क्रममा नेतृत्व हस्तान्तरण गर्ने आफ्नो अडान दोहोर्याउँदै भन्नुभयो – ‘घरमा सधैँ एकै जना मुली रहँदैन, पार्टीमा पनि सधैँ एकै जना सभापति रहँदैन। १५औं महाधिवेशनबाट नयाँ सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन।’
देउवाले आफ्नो प्रधानमन्त्रीकालमा सुरु भएका नीतिगत सुधारहरू — मूल्य अभिवृद्धि कर (VAT) लागू गरी कर प्रणालीलाई वैज्ञानिक बनाउने, भूमिसुधार र महिलाको सम्पत्ति अधिकार सुनिश्चित गर्ने, भ्रष्टाचार निवारण ऐन जारी गर्ने, कमैया मुक्ति अभियान र सामाजिक रुपान्तरणका पहलहरू नेपाली कांग्रेसको लोकतान्त्रिक यात्राका माइलस्टाेन भएको बताउनुभयो।
देउवाले सरकारद्वारा तोकिएको फागुन २१ गतेको निर्वाचन हुने वातावरण नबनेकाे बताउनुभयाे । ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्ने हो, तर अहिले शान्ति–सुरक्षाको ग्यारेन्टी छैन। सुरक्षा निकाय निरिह बनेका छन्। सरकारको पहिलो जिम्मेवारी निर्वाचनका लागि अनुकूल वातावरण बनाउनु हो’, उहाँले भन्नुभयाे ।
उहाँले लोकतान्त्रिक व्यवस्थाको स्थायित्वका लागि बहुदलीय संवाद आवश्यक रहेको बताउनुभयाे । ‘राजनीतिक दलहरूसँग सरकारको संवाद हुन सकेको छैन। नेपाली कांग्रेसले नै देशलाई संकटबाट निकास दिने इतिहास बोकेको दल हो, फेरि पनि त्यो जिम्मेवारी हामीले नै लिनुपर्छ’, उहाँले भन्नुभयाे । ‘देश र लोकतान्त्रिक शासन पद्धति गम्भीर संकटमा छन्। कांग्रेस एकताबद्ध भएर मुलुक सामु उपस्थित चुनौतिहरूको सामना गर्न तयार हुनुपर्छ। यही बैठकबाट देशलाई उचित निकास दिने निर्णय हुनेछ भन्ने म विश्वस्त छु।’
देउवाले स्वास्थ्य उपचारका कारण केही समयका लागि विदेश जाने तयारीमा रहेको बताउँदै पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको जानकारी दिनुभयो। उहाँले विश्वास व्यक्त गर्नुभयो – ‘पूर्णबहादुर खड्का पार्टीको बृहत्तर हितका लागि जिम्मेवारीपूर्वक काम गर्नुहुनेछ।’













प्रतिक्रिया दिनुहोस्