जनता टाइम्स

७ मंसिर २०७६, शनिबार १२:२३

दाइजोको मोटरसाइकल नामसारी नगरेको निहुँमा श्रीमतिको हत्या !


जनकपुरधाम, मंसिर ७

धनुषामा एक युवकले आफ्नै श्रीमतिको हत्या गरिदिएका छन् । मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरमा बस्ने प्रकाश मण्डलले २२ बर्षीया श्रीमति कुसुम मण्डलको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि मण्डलले श्रीमतिको हत्या गरेका हुन् । हत्या गरेको अवस्थामा उनका ससुरा रामचन्द्र मण्डलले कुसुमलाई उपचार गराउन भन्दै जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए । अस्पतालमा उनको मृत शव राखेर ससुरा मण्डल फरार भएका छन् । शनिबार बिहानी माइती पक्षले घटनाबारे जानकारी पाएपछि सञ्चारकर्मीलाई बोलाएर दाइजोका कारण हत्या गरेको दाबी गरेका छन् । हत्या गरिएकी कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका गर्न नसकेकै कारण हत्या गरेको आरोप लगाए ।

‘ज्वाइँ प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आएका थिए,’ जीबछले भने, ‘तर आर्थिक अभावका कारण नामसारी गर्न सकेनौं। त्यही झोंकमा हत्या गरेको छ।’ घटनाबारे गाउँलेले जानकारी दिएपछि अस्पताल आएको उनले बताए । कुसुमको शव अहिले प्रादेशिक अस्पतालको पोष्टमार्टम घरका राखिएको छ । अस्पतालका चिकित्सकले समेत हत्या गरेको देखिएको बताएका छन् ।

घटना शंकास्पद देखिएको भन्दै प्रहरीले मृतक कुसुमका श्रीमान प्रकाशलाई पक्राउ गरेको छ । धनुषाका एसपी शेखर खनालले प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ‘पासो लगाएर आत्महत्या गर्न खोज्दा ससुराले उपचारका लागि अस्पताल ल्याएको भनिएको छ’, एसपी खनालले भन्नुभयो, ‘घटनाबारे बुझ्न प्रहरी पुगिसेको छ। अहिले हत्या हो कि आत्महत्या भन्न सकिँदैन।’ पोष्टमार्टमका रिपोर्ट नआएसम्म केही भन्न नसकिने उनको भनाइ छ ।