काठमाडौं, असोज २९ । नेकपा एमालेको केन्द्रीय कमिटीको १०औं बैठक सुरु भएको छ । जेनजी आन्दोलनपश्चात ललितपुरको जावलाखेलमा केहीबेर अघिबाट बैठक शुरु भएको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव, आसन्न पार्टीको राष्ट्रिय महाधिवेशन र जनपरिचालन, आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस अगाडि बसेको एमालेको सचिवालय बैठकले पार्टी ११ औँ महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको स्थान र समय केन्द्रीय कमिटीले निर्धारण गर्ने उनले बताए। यसैगरी प्रतिनिधिसभा विघटनको विषयमा पनि बैठकमा छलफल हुने छ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने र जनपरिचालन गरी देशव्यापीरुपमा सभाको घोषणा गर्ने एमालेको तयारी छ।
एमाले अध्यक्ष ओलीले यस अगाडि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरूसँग सहकार्य गर्ने अभिव्यक्ति दिनुभएको थियो । एमालेको सचिवालय बैठकले सरकार निर्माण र संसद विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाको पक्षमा निर्णय गरेको थियो।
सरकारले दलहरूसँग संवाद नगरेकाले निर्वाचनको वातावरण नबनेको एमालेले बताउँदै आएको छ। अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ। केन्द्रीय सदस्यहरुलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको छ ।


















प्रतिक्रिया दिनुहोस्