जनता टाइम्स

७ मंसिर २०७६, शनिबार १२:५५

मतदातासामू बिद्या भट्टराईको अठोट : महिलालाई सीप र प्रविधिसँग जोडेर विकास र समृद्धि अभियानमा लाग्नेछु


पोखरा, मंसिर ७ । आगामी मंसिर १४ गते हुन गइरहेको कास्की–२ को उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार बिद्या भट्टराई अधिकारीले महिलालाई सीप र प्रविधिसँग जोडेर समृद्धी खोज्ने अठोट गर्नुभएको छ ।

चुनावी घरदैलोका क्रममा भलामको पिपलडालीमा आज आयोजित कोणसभामा बोल्दै उम्मेद्वार भट्टराईले सो अठोट गर्नुभएको हो । देशको विकास र समृद्धीमा महिलाको भूमिका उत्तिकै हुने भएकाले उनीहरुलाई सीप र प्रविधीसँग जोड्नुपर्ने उहाँको भनाई छ । ‘महिलालाई सीप र प्रविधीसँग जोड्नका लागि म नेतृत्वदायी भूमिका खेल्छु, नेतृ भट्टराईले भन्नुभयो, ‘महिला दिदीबहिनीहरुलाई सीप र प्रविधीसँग जोड्न अत्यन्त आवश्यक छ, त्यसबाट मात्रै देशको विकास र समृद्धी सम्भव छ ।’

उहाँले आफूलाई बिजयी बनाएर कास्की–२ मा महिला नेतृत्व स्थापित गर्ने अवसरलाई सदूपयोग गर्न पनि मतदातालाई आग्रह गर्नुभयो । ‘आज सरसर्ती हेर्दा विद्या उम्मेद्वार भएजस्तो लाग्छ, तर त्यसो होइन, बरु कांग्रेस, कम्युनिष्टदेखि नयाँ दललेसमेत विद्यालाई जिताएर महिला नेतृत्व स्थापित गर्ने यो सुवर्ण अवसर हो, यसलाई खेर फालियो भने महिला नेतृत्व स्थापित गर्ने अवसर गुम्छ, यसप्रति सबै दलमा आवद्ध महिलाहरु सचेत हुन जरुरी छ,’ भट्टराईले भन्नुभयो । उहाँले महिला जत्तिको इमान्दार अरु कोही नहुने भन्दै आफूलाई जिताएर पोखरा र समग्र कास्कीको विकासले फड्को मार्ने वातावरण सिर्जना गर्न अपिल गर्नुभयो ।

उहाँले राजनीतिलाई विकाससँग नजोडेसम्म विकास र समृद्धि असम्भव भएकाले त्यसलाई जोड्ने काम आफूले गर्ने बताउनु भयो । महिला र पिछडिएका वर्गको सशक्तिकरणका लागि सरकारले अघि सारेका कार्यक्रमहरु प्रभावकारी कार्यान्वयनका लागि आफूले सकृयताका साथ भूमिका खेल्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भयो । यस्तै उहाँले भलाम–बेंसी–आँटी मौजा जोड्ने बाटो स्तरोन्नतीको काम शुरु भइसकेको बताउँदै यसलाई पूर्णता दिने काम आफूले गर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा अन्य बत्ताहरुले स्वर्गीय रवीन्द्र अधिकारीको चाहना अनुसार नै परिवारले काजकिरिया छोट्याएको भन्दै कांग्रेसको् अफवाहमा नपर्न आग्रह गर्नुभयो । कास्की २ मा नेकपाका चुनावी कमाण्डर राजकाजी गुरुङले सांस्कृतिक रुपान्तरणका लागि विद्या भट्टराईले काजकिरिया फरक तरिकाले गरेको बताउनु भयो । नेकपाको चुनावी घरदैलोका क्रममा शनिबार विहान भलाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै गुरुङले रवीन्द्रकै चाहना अनुसार विद्याले काजकिरिया फरक तरिकाले गरेको प्रष्ट पार्नुभएको हो ।

‘संस्कृति मन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृति पनि रुपान्तरण गर्नुपर्छ भनेर कदम चाल्नु भएको थियो, उहाँ संस्कृति सरल र सहज होस भन्ने चाहनुहुन्थ्यो, संस्कृतिको नाममा कसैलेपनि दुःख नपाओस् भन्ने उहाँको चाहना थियो, त्यही अनुसार उहाँले संस्कृति रुपान्तरण गर्ने प्रयास गरिरहनु भएको थियो, त्यसैले उहाँको चाहना अनुसारै विद्याले काजकिरिया गर्नु भएन, यसलाई अन्यथा लिनु भएन,’ गुरुङले भन्नुभयो । कांग्रेसले आफूले हार्ने देखेर विद्यालाई काजकिरिया गरेन भनेर अनर्गल प्रचार र भ्रम छरिरहेको उहाँको भनाई छ । ‘जटिल हुँदा संस्कृतिप्रति वितृष्ण जाग्छ, संस्कृतिलाई सरल र सहज बनाउँदा अनर्गल प्रचार गर्ने कांग्रेस आफै संस्कृतिबिरुद्ध छ भन्ने पुष्टी गर्छ,’ गुरुङको भनाई थियो ।

कार्यक्रममा नेकपा पोखरा महानगर कमिटीका सचिव तथा नेकपाका पोखरा २० का चुनावी कमाण्डर विश्वप्रकाश लामिछानेले विद्यालाई जिताएर विकास र समृद्धीको यात्रालाई निश्कर्षमा पुर्याउनु पर्ने बताउनुभयो । भलामको नेकपा निर्वाचन सम्पर्क कार्यालय र्यालेचौरबाट शुरु भएको चुनावी घरदैलो घारी, डाँडाघर, थानापतीहुँदै पिपलडालीमा पुगेर कोणसभामा परिणत भएको थियो । घरदैलोअघि उम्मेद्वार विद्याले स्थानीय थानापती मन्दिरमा पूजा अर्चनासमेत गर्नुभयो । सो अवसरमा उहाँले सबै धर्म र संस्कृतिलाई सँधै सम्मान गर्ने बताउँदै भलामको थानापती मन्दिर र शिव मन्दिरसहित अन्य सांस्कृतिक सम्पदा संरक्षणको लागि योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।