जनता टाइम्स

२९ आश्विन २०८२, बुधबार १४:५१

सभामुख–दल बैठकको निष्कर्ष : प्रतिनिधि सभा विघटन असंवैधानिक


काठमाडौं, असोज २९ । सभामुख देवराज घिमिरेले बोलाउनु भएको राजनीतिक दलहरूसँगको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा विघटनपछि सभामुख घिमिरेले पहिलो पटक बोलाउनु भएको बैठक आज बिहान सिंहदरबारमा बसेको हो । बैठकले प्रतिनिधि सभा बिघटनसंबिधानबिपरित रहेको ठहर गरेको हो ।बैठकमा छलफलका क्रममा एमालेले संसद पुनःस्थापनामा जोड दिएको छ भने अन्य दलहरुले सरकारले निर्वाचनको वातावरण बनाए आफूहरू निर्वाचनमा जान तयार रहेको धारणा राखेका छन ।

छलफलपछि कांग्रेस नेता श्याम घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधनिक रहेपनि अबको निकास संसद पुनःस्थापना वा निर्वाचन नै भएको बताउनु भयो । सरकारले निर्वाचनको उचित वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने उहाँको भनाई छ ।

एमालेका नेता महेश बर्तौलाले बैठकमा सहभागी सबै दलले संसद पुनःस्थापना गरेर जानुपर्छ भन्ने साझा धारणा राखेको जानकारी दिनुभयो । सर्वोच्चमा रिट परेकाले हुने फैसलालाई स्वीकार गर्ने भन्दै बर्ताैलाले बैठकमा प्रतिनिधि सभा विघटनको विरोध सबै गरेको जानकारी दिनुभयो । उहाँले जेनजीको माग यही संसदले पूरा गर्न सक्ने भएपनि ठूलो षड्यन्त्र गरेर विघटन गरेको निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

‘जेनजीले राम्रा विषय पनि उठाएका छन । संसद् पुनःस्थापना गरेर संवैधानिक तरिकाबाटै जेनजीले उठाएका माग सम्बोधन हुन्छ । सबै दलहरूको आआफ्नै निर्णय छन,’ बर्तौलाले भन्नुभयो ।बैठकमा निर्वाचन घोषणा गरेपनि राजनीतिक दलसँग संवाद नगरेको भन्दै दलहरुले आपत्ति जनाएका थिए । बर्ताैलाका अनुसार सरकारका मन्त्री निर्वाचन गर्ने वातावरणभन्दा भड्काउनतर्फ केन्द्रित रहेको बैठकको निश्कर्ष छ ।

उहाँले वर्तमान सरकारले निर्वाचनका लागि कुनै तयारी नै नगरेकाले संसद् पुनःस्थापना हुनुपर्ने एमालेको स्पष्ट धारणा रहेको जानकारी पनि दिनुभयो । यसैगरी एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेले राष्ट्रपति कार्यालयबाट संसद विघटनको विज्ञप्ति जारी गर्ने बित्तिकै ८ वटा दलका २२९ जना सांसदले असंवैधानिक भनेर वक्तव्य जारी गरेको बताउनु भयो ।

अदालतले सरकार बनेकोदेखि लिएर विघटन असंवैधानिक ठहर गर्यो भने नयाँ कोर्सबाट अगाडि बढ्ने पाण्डेको भनाई छ । सर्वोच्चमा मंगलवार १० वटा रिट परेकाले न्यायिक परीक्षण हुने भन्दै उहाँले सभामुख संसद विघटनको मुद्दा लिएर नजाने बताउनु भयो ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग सम्बोधन नगरी संसद पुनःस्थापना गर्न नहुने सभामुखलाई सुझाव दिएको बताउनु भयो । उहाँले प्रत्यक्ष कार्यकारी, प्रदेश खारेज लगायतका माग संसद पुनःस्थापना गरेर पारित गर्ने प्रतिबद्धता जनाएपछि मात्र पुनःस्थापना हुनुपर्ने बताउनु भयो ।