जनता टाइम्स

२९ आश्विन २०८२, बुधबार १८:०८

सिंहदरबारमा हतियारमा पोजिसन लिने व्यक्ति पक्राउ : यसअघि नै ज्यान मार्ने उद्योगसहित ८ मुद्दा


काठमाडौं, असोज २९ । देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको मूल गेटमा सेल्फ लोडिङ राइफल (एसएलआर) हतियारमा पोजिसन लिने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित ब्रान्चले जेनजी आन्दोलनको क्रममा एलएलआर हतियारमार्फत पोजिसन लिएर उच्छृंखल गतिविधि गर्ने ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्ति सम्राट भनेर चिनिने राजु परियार हुन् । ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय परियारले २४ भदौमा भएको जेनजी आन्दोलनमा राइफल लिँदै उच्छृखंल गतिविधि गरेको भिडिओ, तस्वीर भाइरल बनेको थियो ।

टाउकामा क्याप र मुखमा कालो मास्क लगाएका परियारले माथिको कपडा भने फुकालेका थिए । उनको छातीमा ट्याटु खोपेको पनि भिडिओमा देखिन्थ्यो । ट्राउजर र चप्पल लगाएका ती व्यक्ति सिंहदरबार तोडफोड र आगजनीमा अग्रमोर्चामा रहेको आशंका प्रहरीको छ । उनै परियारले सुरक्षाकर्मीको स्वचालित एसएलआर हतियार लुटेर आतंक सिर्जना गरेका थिए । राइफल बोकेर पोजिसन लिएको तस्वीर भाइरल भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत उनको खोजी सुरु गरेको थियो ।

सार्वजनिक भिडिओअनुसार व्यक्ति पहिचान गरी पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले पुष्टि गर्नुभयो । उनलाई आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउन लागिएको छ । त्यही प्रयोजनका लागि अपराध अनुसन्धान कार्यालयले परियारलाई परिसर काठमाडौंको जिम्मा लगाएको छ ।

शारीरिक रूपमा निकै हट्टाकट्टा देखिने परियारलाई पक्राउ गर्न प्रहरी पुग्दा उनी उल्टै प्रहरीमाथि जाइलागेका थिए । मंगलबार साँझ पक्राउ गरेर प्रहरीले उनीमाथि सामान्य सोधपुछ गरेको थियो । तर, आफूले बोकेको हतियार भने उनले सुरक्षाकर्मीलाई बुझाएको दाबी गरेका थिए । ‘मैले नेपाली सेनालाई त्यो हतियार बुझाएको हुँ,’ परियारले प्रहरीसमक्ष भनेका थिए । परियारमाथि ८ वटा मुद्दा चलेको प्रमाण भेटपछि प्रहरी अधिकारीहरू नै छक्क परेका छन् ।

तर, सेनालाई हतियार बुझाएको कुनै प्रमाण भने फेला नपरेको प्रहरीले बताएको छ । बुझाउँदाको भिडिओ रहेको दाबी गरे पनि प्रहरीले उनको मोबाइल हेर्दा हतियार बुझाएको कुनै प्रमाण फेला परेन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनी जेनजी आन्दोलनमा सहभागी हुनेभन्दा पनि मौकामा उच्छृंखल गतिविधिमा संलग्न भएको देखिएको छ । उमेर ३६ वर्ष भइसकेको र आपराधिक पृष्ठभूमिका कारण परियार आगजनी र तोडफोडकै लागि उत्रिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । परियारले उक्त हतियार भने सर्वोच्च अदालतभित्र रहेको प्रहरी कार्यालयबाट लुटेको बताएका छन् ।

पक्राउ गरेपछि प्रहरीले अनुसन्धान गर्दै विगतको ट्र्याक रेकर्ड केलाउँदा परियार ८ वटा मुद्दा चलेका व्यक्ति रहेको पाइएको छ ।