काठमाडौं, असोज २९ । नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले नेकपा एमाले चुनावबाट कहिल्यै पनि नभाग्ने पार्टी भएको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीले सोधको प्रश्नको जवाफ दिँदै गुरुङले जेलबाट कैदीहरू फरार भएका, सुरक्षा अवस्था अति कमजोर भएको, हतियार लुटिएको अहिलेको अवस्थामा चुनाव नहुने स्पष्ट पार्नुभयो । संसद् पुनर्स्थापना हुनुपर्छ भन्ने मान्यतामा एमाले रहेको उहाँले बताउनुभयो । ‘चुनावबाट एमाले भाग्दैन, तर अहिले चुनाव गर्ने परिस्थिति छैन’, उहाँले भन्नुभयो ।
भदौ २३, २४ को घटना निक्कै दुखद घटना भएको बताउँदै उहाँले यो घटनाबाट सधैँ निराश भएर पनि बस्न नसकिने बताउनुभयो । जेनजीले उठाएका मागमा आफ्नो समर्थन भएको बताउँदै सो आन्दोलनको नाममा भएको हत्या, हिंसा र आतङ्कलाई स्विकार्न नसकिने उहाँको धारणा छ । जेनजीले पनि यस्तो कलङ्क व्यहोर्नु नहुने बताउँदै गुरुङले जेनजीले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।
अब पार्टी र देशलाई कसरी अघि बढाउने भन्ने सोच र विचारका साथ अघि बढ्नु पर्ने उहाँको धारणा छ । सबै क्षेत्रमा गिरेको मनोबल उठाउने गरी एमाले अघि बढ्ने र सोही अनुसारको दृष्टिकोण केन्द्रीय कमिटी बैठकमा आइरहेको उहाँले जानकारी दिनुभयो ।
एमालेले विधान महाधिवेशन सकिसकेको बताउँदै गुरुङले मङ्सिरमा प्रस्ताव गरिएको पार्टीको केन्द्रीय महाधिवेशन नियमित प्रक्रिया भित्रै रहेको जानकारी दिनुभयो । भदौ २३ र २४ को घटना नभएको भए पनि एमालेको महाधिवेशन मङ्सिरमा नै गर्ने गरी तयारी भइरहेको गुरुङले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्