जनता टाइम्स

३० आश्विन २०८२, बिहीबार ०७:०६

एमाले केन्द्रीय कमिटीकाे बैठक आज पनि जारी रहने, आज १०० भन्दा बढी सदस्य बोल्ने अपेक्षा


काठमाडौं, असोज ३० । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि जारी रहने भएकाे छ । आजकाे बैठक विहान ८ बजेदेखि सुरु हुने छ ।

आजको बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको विशेष राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा र सुझाव राख्ने क्रम निरन्तर चल्नेछ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, हिजो पहिलो दिन ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए। आज थप करिब १०० जना सदस्यले धारणा राख्ने अनुमान गरिएको छ। उहाँका अनुसार, सबै सदस्यले बोल्ने चाहना देखाएकाले बैठक अझ लम्बिन सक्ने संकेत छ।

बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटसम्म बोल्ने समय निर्धारण गरिएको छ। निर्धारित समय नाघेपछि माइक स्वतः बन्द हुने प्रवन्ध गरिएको गौतमले जानकारी दिनुभयाे। ‘समय सीमा सबैका लागि समान गरिएको छ, जसले गर्दा बैठक व्यवस्थित र अनुशासित रूपमा चलिरहेको छ।’

एमालेले यसपटक केन्द्रीय सदस्यहरूलाई बोल्ने पालो वर्णानुक्रम अनुसार उल्टो दिशाबाट (ज्ञ बाट सुरु गरी) तय गरेको छ। हिजोको बैठकमा र बाट सुरु हुने नाम भएका सदस्यहरूको धारणा सुन्ने क्रममा बैठक सकिएको थियो।

बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन गर्ने प्रस्ताव पेस गर्नुभएको थियो। प्रस्तावमा आगामी संगठनात्मक दिशा, वैचारिक स्पष्टता र स्थानीयदेखि राष्ट्रिय तहसम्मको राजनीतिक रणनीति समेटिएको बताइएको छ।

आज पनि केन्द्रीय सदस्यहरूका धारणा सुनेपछि पदाधिकारीहरूले आफ्नो विचार राख्ने कार्यक्रम रहेको छ। अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव, जिज्ञासा र आलोचनाहरूमाथि एकमुष्ट जवाफ दिने तयारी गरिएको छ।

एमालेको यो बैठकले पार्टीको आन्तरिक एकता, महाधिवेशन, नीति निर्धारण र आगामी निर्वाचन तयारीको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।