काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनका क्रममा हटाइएका मन्त्रीहरुलाई काठमाडौंमा डेरा पाउनै हम्मे हम्मे भएको छ । काठमाडौंमा घर नहुने निवर्तमान मन्त्रीहरुले डेरा नपाएपछि लाज पचाएरै भएपनि अझै पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्नुपरेको छ ।
काठमाडौंमै घर हुने निवर्तमान मन्त्रीहरुले बिहीबारै मन्त्रीक्वाटर छाडेपनि घर नहुनेहरु भने डेरा खोज्दै दिन बिताउन थालेका हुन । प्रधानमन्त्री ओलीले गत बुधवार ६ जना मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको थियो । मन्त्रीबाट हटेपछि डेरा खोज्न ब्यस्थ मन्त्रीहरुले कोठा नपाएका हुन । उनीहरुले आफन्त र इस्टमित्रहरुलाई कोठा खोज्न हारगुहार गरेपनि पाउन सकेका छैनन ।
मन्त्री पद गुमेपछि ललितपुरस्थित मन्त्री क्वाटरमा बिहीबारै आफ्ना सामान पोको पारेर बस्नुभएका लालबाबु पण्डितले अझै कोठा फेला पार्नुभएको छैन । पण्डितले फ्ल्याट नभेट्दा मन्त्री क्वाटर छाड्न नसकेको बताउनु भएको छ । पण्डितले मासिक २० हजारसम्मको फ्ल्याट खोजिरहनु भएको छ । पदमुक्त हुनुभएका तात्कालिन कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणी खनाललाई पनि कोठा भेट्न मुस्किल परेको छ । खनालले बिहीबारै मन्त्री क्वाटर छाडेपनि कोठा भने फेला पार्न नसक्नुभएको हो ।
‘मैले त बिहीबारै क्वाटर छोडे । तर कोठाचाहिँ भेटेको छैन । सामान भाइको कोठामा लगेर थन्काएको छु,’ खनालले भन्नुभयो । खनालले पनि मासिक १८ देखि २० हजार रुपैयाँसम्म तिर्ने गरी फ्ल्याट खोजिरहनुभएको छ । तात्कालिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले भने मन्त्रीबाट हटेकै दिन क्वार्टर छोडिसक्नुभएको छ । यादव भक्तपुरमा कोठा खोजेर सर्नुभएको हो । यस्तै तात्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले काठमाडौंमै घर रहेकोले बिहीबार नै क्वाटर छाडनुभएको छ ।
यस्तै निवर्तमान महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थपमाया थापाले पनि पुल्चोकस्थित निवास छाडनु भएको छैन । उहाँले आफ्नै मन्त्रालयको नेतृत्व गर्न आउनुभएका नवनियुक्त मन्त्री पार्वत गुरुङलाई नै मन्त्री क्वार्टरको चावी हस्तान्तरण गरी मन्त्री निवास छाडने बताउनु भएको छ । पुल्चोकस्थित मन्त्री क्वार्टर गेटमा कार्यरत एक सुरक्षाकर्मीका अनुसार निवर्तमान मन्त्री थममाया थापा र लालबाबु पण्डितले अहिलेसम्म क्वार्टर छाडनु भएको छैन । उहाँहरु निवासमै हुनुहुन्छ,’ जनताटाइम्सको जिज्ञासामा ती सुरक्षाकर्मीले भने ।
प्रधानमन्त्री ओलीले बुधवार हृदयश त्रिपाठी, घणश्याम भुसाल, लेखराज भट्ट, पार्वत गुरुङ, रामेश्वर राय यादव, बशन्त नेम्वाङलाई मन्त्री तथा मोती दुगड, नवराज रावत र रामबीर मानन्धरलाई राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरु पुल्चोकस्थित मन्त्री क्वार्टरको ताकेता गरिरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्