रामेछाप, असोज ३०। तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापको आफ्नै भवन निर्माण भएको छ।
भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको संयुक्त लगानीमा निर्माण गरिएको दुई तले भवन मन्थलीस्थित तामाकोसी सेवा समिति परिसरमा निर्माण गरिएको हो। करिब डेढ करोड रुपैयाँ लागतमा बनेको भवनमा ५५ प्रतिशत लगानी भिजन हिमालय फाउण्डेसनको रहेको आँखा केन्द्रका अध्यक्ष डा. सुमन कर्माचार्यले जानकारी दिनुभयो।
नवनिर्मित भवनको उद्घाटन भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्डका उपाध्यक्ष डा. रोमन ग्रेम्जरले गर्नुभयो। उद्घाटनअघि आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू सन् १९९६ मा पहिलोपटक नेपाल आएको स्मरण गर्दै त्यस यता तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्यमा विभिन्न स्थानमा आँखा उपचार शिविर सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले फाउण्डेसनले नेपालको दुर्गम क्षेत्रका समुदायमा आँखा स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ निरन्तर सहयोग गरिरहेको जानकारी पनि दिनुभयो।
तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम संयोजक डा. मोहनकृष्ण श्रेष्ठले रामेछापमा तामाकोसी सेवा समितिसँगको साझेदारीमा २४ वर्षदेखि आँखा उपचार सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो। नयाँ भवन बनेपछि सर्जिकल सेवा सहित आँखाको अप्रेसन गर्न सकिने भएकाले सेवा स्तर थप उन्नत हुने उहाँको भनाइ छ ।
डा. श्रेष्ठका अनुसार काठमाडौं बाहिर नुवाकोट र धादिङपछि रामेछापमा बनेको यो तेस्रो स्थायी आँखा सर्जिकल भवन हो। उहाँले २४ वर्षको अवधिमा रामेछापमा मात्र एक लाखभन्दा बढी बिरामीले तिलगंगा प्रतिष्ठानको सेवाबाट लाभान्वित भएको जानकारी दिनुभयो।

प्रतिष्ठानले आँखा स्वास्थ्यका क्षेत्रगत कार्यक्रम अन्तर्गत दृष्टिविहीनता निवारण, आँखाको रोग पहिचान, शल्यक्रिया, प्रशिक्षण, समुदायस्तरको जनचेतना, अनुसन्धान र सामाजिक साझेदारी लगायतका मुख्य ६ वटा कार्यक्रम सञ्चालन गरिरहेको डा. श्रेष्ठले बताउनुभयो।
उहाँले आँखा स्वास्थ्य क्षेत्रमा सञ्चारकर्मीहरूको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै रामेछापका पत्रकारहरूको निःशुल्क आँखा उपचार सेवा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। यसका लागि तिलगंगा प्रतिष्ठान र नेपाल पत्रकार महासंघ रामेछाप शाखाबीच सहकार्य सम्झौता गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
नयाँ भवनले जिल्लामा गुणस्तरीय आँखा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने विश्वास लिइएकाे छ ।













प्रतिक्रिया दिनुहोस्