काठमाडौं, असोज ३०। नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको १०औं बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम निरन्तर जारी रहेको छ।
बैठकमा अधिकांश वक्ताहरूले जनताको समस्या समाधानमा ढिलाइ नगर्नु पर्ने, जेन–जेड आन्दोलनपछि बदलिएको परिस्थितिलाई गहिरो रूपमा बुझ्न आवश्यक रहेको र नेतृत्व परिवर्तनको मुद्दा अहिले उठाउने समय नभएको धारणा राख्नु भएकाे छ ।
बैठकमा आफ्नो विचार राख्दै केन्द्रीय सदस्य मोहम्मद हारुनले जेन–जेड आन्दोलनको नाममा एमालेलाई कमजोर देखाउने प्रयासहरू गलत भएको बताउनुभयो। उहाँले पार्टीको संगठनात्मक टोलसम्म मजबुत रहेको उल्लेख गर्दै भन्नुभयो, ‘देशमा एमाले छ, प्रदेशमा एमाले छ, जिल्लामा, पालिकामा र टोलमा एमाले छ, त्यसैले यो पार्टी कमजोर हुन सक्दैन, तर एमाले कमजोर छ भन्ने गलत भाष्य खडा गर्ने प्रयास भइरहेको छ, त्यसलाई चिर्न सबै पंक्ती सक्रिय हुनुपर्छ।’
उहाँले अहिलेको राजनीतिक परिस्थितिमा नेतृत्व परिवर्तनको बहस उठाउनु बेमौसमी भएको उल्लेख गर्दै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व अझै देशका लागि आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी केन्द्रीय सदस्य मेनुका काफ्लेले २०४८ साल यताका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्नुभयो। उहाँले पार्टीले अलग आयोग गठन गरी नेताहरूको सम्पत्ति सार्वजनिक गरे जेन–जेड आन्दोलनका मागहरू पनि सम्बोधन हुने र पार्टीभित्र शुद्धीकरणको प्रक्रिया बलियो बन्ने सुझाव दिनुभयो। उहाँको भनाइ थियो, ‘यसै बैठकबाट यस्तो आयोग गठन होस्, जसले नेताहरूको सम्पत्ति छानबिन गरेर जनसमक्ष पारदर्शी बनाओस्।’
केन्द्रीय सदस्य रमेश बडालले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव भए पनि मुलुकको राजनीतिक परिस्थितिले गर्दा त्यो चैतपछि सारिन सक्ने सम्भावना रहेको टिप्पणी गर्नुभयो। उहाँले विद्यालयलाई राजनीतिक रूपमा निषेधित क्षेत्र बनाउने नीतिले युवामा राजनीतिक रिक्तता सिर्जना भएको बताउनुभयो। ‘विद्यालयमा राजनीति नगर्ने नीति राम्रो थियो, तर त्यसको फाइदा अन्य समूहले उठाए, त्यसैले विद्यार्थीहरू मुख्यधारको राजनीति भन्दा टाढा गए, यसमा पुनर्विचार गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
पूर्वमहान्याधिवक्ता समेत रहनु भएका बडालले प्रधानमन्त्रीले गरेको संसद विघटन संवैधानिक रूपमा कायम हुन नसक्ने दाबी पनि गर्नुभयो।

बैठकमा केन्द्रीय सदस्य मोहनमाया ढकालले अहिले नेतृत्व परिवर्तनको बहस ‘बेमौसमको बाजा’ भएको बताउँनुभयाे । ‘अब कसले अध्यक्ष र कसले महासचिव बन्ने भन्ने विषय महाधिवेशनका प्रतिनिधिहरूको हातमा गइसकेको छ, त्यसैले अहिलेको ध्यान संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्छ’, उहाँले भन्नुभयाे ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य मोहम्मद समिरले अध्यक्ष केपी ओलीको विकल्प खोज्ने कुरा अहिलेको राजनीतिक आवश्यकता नभएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘केपी ओलीले सामना गर्नुभएको कठिनाइ र विरोधका बाबजुद उहाँ ढल्नु भएको छैन, न उहाँका सपना र दृष्टिकोण फेरिएका छन्, ना केपी ओली गिरे, ना केपी ओली के उमिदो मिनार गिरे’, उहाँले भन्नुभयाे ।
त्यस्तै, केन्द्रीय सदस्य यज्ञबहादुर सुनुवारले पार्टीभित्रको आन्तरिक एकता र अनुशासन सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जनताको विश्वास पुनः प्राप्त गर्न पार्टी पंक्ती एकीकृत रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा नेताहरुले धारणा राख्ने क्रम अझै जारी छ। हाल नेपाली वर्णानुक्रम अनुसार ‘य’ अक्षरबाट सुरु हुने नाम भएका केन्द्रीय सदस्यहरूले धारणा राखिरहनु भएको छ।
गौतमका अनुसार आज कम्तीमा १०० जना केन्द्रीय सदस्यले आफ्नो विचार राख्ने कार्यसूची रहेको छ। हिजोदेखि सुरु भएको बैठक भोलिसम्म चल्ने तयारी गरिएको छ।













प्रतिक्रिया दिनुहोस्