काठमाडौं, असोज ३१। नेकपा (एमाले)को जारी दशौँ केन्द्रीय कमिटी बैठक आज समापन हुने भएको छ। ललितपुरको भनी मण्डलस्थित रामबाघ महलमा तीन दिनदेखि जारी बैठकको तेस्रो दिन आज बाँकी रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेपछि अध्यक्षले जवाफ दिएसँगै बैठक सकिने भएको हो।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अस्ति र हिजाे विचार राख्न बाँकि केन्द्रीय सदस्यहरूले आज आफ्ना विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। ‘ बैठकमाअझै करिब ५० जना केन्द्रीय सदस्यहरूका धारणा बाँकी छ । उहाँका अनुसार आजको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारीहरूका तर्फबाट पनि धारणा प्रस्तुत गरिनेछ।
बैठकको अन्त्यमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूले उठाएका जिज्ञासाहरूको एकमुष्ट जवाफ दिने र त्यसपछि बैठक औपचारिक रूपमा समापन हुने गौतमले जानकारी दिनुभयो।
बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको विशेष राजनीतिक प्रस्तावमा केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन्। ती सुझावहरूलाई आत्मसात् गर्दै पार्टीको आगामी दिशा, घोषित निर्वाचनको तयारी, हालको राजनीतिक परिस्थितिको मूल्याङ्कन र संगठन सुदृढीकरणका विषयमा अध्यक्ष ओलीले विशेष निर्देशन दिने तयारी रहेको उहाँले बताउनुभयो।
तीन दिनअघि प्रारम्भ भएको बैठकले ‘जेन-जि आन्दोलन’पछि उत्पन्न राजनीतिक परिस्थिति र त्यसले देशको स्थायित्वमा पारेको प्रभावबारे पनि गहन छलफल गरेको छ। सोही सन्दर्भमा पार्टीको आगामी राजनीतिक रणनीति, संगठन विस्तार र जनसंपर्क सुदृढीकरणका कार्यसूचीहरूमा बैठक केन्द्रित भएको बताइएको छ।
एमालेले यही बैठकमार्फत आगामी ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने औपचारिक निर्णय गर्न लागेको छ। महाधिवेशन तयारीसहित संगठन सुदृढीकरण र राजनीतिक रूपरेखाको दिशामा बैठक निर्णायक हुने बताइएको छ।













प्रतिक्रिया दिनुहोस्