काठमाडौं, असोज ३१ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७०औँ प्रहरी दिवस २०८२ को अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिक सुरक्षाप्रति जिम्मेवार रहन निर्देशन दिनुभएको छ ।
शुक्रवार परेको प्रहरी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जेनजी आन्दोलन पश्चात् देखिएका सुरक्षा चुनौतीहरूको डटेर सामना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयाे । ‘भाद्र २३ र २४ गते भएका अप्रिय घटनाहरू पश्चात् उत्पन्न हुन सक्ने कठिन परिस्थितिमा नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प हामीसँग छैन, त्यसैले कुनै घटनाक्रमबाट हतोत्साहित नभई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न सबै प्रहरी कर्मचारी तयार रहनुपर्छ’, उहाँले भन्नुभयो ।
उहाँले अभाव र कठिनाइका बाबजुद पनि प्रहरीको उपस्थितिलाई सशक्त र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । प्रहरी ऐन २०१२ जारी भएसँगै नेपाल प्रहरीको विधिवत् स्थापना भएको स्मरण गर्दै उहाँले प्रहरी दिवसको अवसरमा वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
महानिरीक्षक खापुङले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरूको पुनः निर्माणमा जनसमुदायले देखाएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । ‘सोही घटनाक्रमपछि क्षतिग्रस्त भएका प्रहरीका भवन र सामग्री पुनः निर्माणमा आमजनसमुदायबाट प्राप्त भएकाे सहयोग र सहृदयताका लागि पनि समस्त नागरिकहरुमाे हार्दिक आभार व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्