जनता टाइम्स

३१ आश्विन २०८२, शुक्रबार १४:३३

काठमाडौं महानगरपालिका प्रमुख बालेन : नसाको सुरमा बोल्छन् कि ? आफू बाहेक सबैलाई बेकुफ ठान्छन् ?


काठमाडौं, असोज ३१ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनका विषयमा धेरै चर्चा हुने गर्दछ ।

सार्वजनिक रूपमा देखिन नचाहने बालेन देखिने भनेकै कार्यपालिका बैठक र महानगरको सभामा हो । त्यस बाहेक अति कम सार्वजनिक कार्यक्रममा बालेनलाई देखिन्छ ।

महानगरपालिका प्रमुख निर्वाचित भएपछि बालेनले सिंहदरबार अगाडि फोहर थुपारिदिने मात्र होइन आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले चेक जाँच गरेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्की समेत दिनुभएको थियो। नभन्दै बालेनले धम्की दिएको केही समयपछि जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालय लगायत केन्द्रीय सरकारका अधिकांश संरचनाहरू आगो लगाएर खरानी बनाइयो । सो आन्दोलन गर्न सामाजिक सञ्जाल फेसबुक मार्फत बालेनले उकासेका कारण घटनालाई लिएर बालेनको आलोचना हुने गरेको छ ।

महानगरपालिका प्रमुख साह कार्यपालिका बैठक वा सभामा पनि सभाका सदस्यहरूसँग अति रुखो रूपमा प्रस्तुत हुने गर्नुहुन्छ। आलोचना पटक्कै सुन्न नसक्ने बालेनको व्यवहारले उहाँ आफूलाई सबै जान्ने र बाँकी सबैलाई बेकुफ ठान्छ । त्यसैले बैठकमा कुरा उठाउने वडाध्यक्ष हुन् वा कार्यपालिका सदस्यहरूलाई हरेक बैठकमा बालेनले अपमान गर्दै आउनुभएको छ।

त्यस्तै घटना पुनः काठमाडौं महानगरपालिकाको  कार्यपालिका बैठकमा मेयर बालेन साहले र ११ नम्बर वडाध्यक्ष हिरालाल तण्डुकारसँग दोहोर्‍याउनु भएको छ ।

नेपाल स्काउटको जग्गामा अस्पताल निर्माण गर्ने प्रस्तावमाथि छलफलका क्रममा तण्डुकारले महानगरले पहिले आफ्नै भवन र महानगर प्रहरीको ब्यारेक निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो । ‘हाम्रो महानगरपालिका आफैँ आफ्नो घरमा बस्ने सकेको छैन, महानगरपालिका दिनका दिन भाडाको पैसा तिरेर बस्नु परेको छ, पहिला त हाम्रो महानगरपालिका बस्नु पर्‍यो’, उहाँले भन्नुभयो ।

उहाँले कुरा राख्दा राख्दै बालेनले सो काम तिहार पछि सुरु हुन्छ भन्नुभएको थियो । तर ताण्डुकारले बालेन निर्वाचित भएको साँढे तीन वर्षसम्म पनि सो काम नभएकोले आश्वासन होइन काम गर्नुपर्ने बताउनुभयो ।

तण्डुकारले तत्कालै काम सुरु गर्नुपर्ने बताउनुभयो । त्यसको जवाफमा बालेनले भन्नुभयो, ‘तिहार पछाडि सुरु हुन्छ, तिहार पछाडि सुरु होस् भन्न खोज्नु भएको कि, नहोस् भन्नुभा ? आश्वासन होइन के यो, भनेपछि तपाईँले नबनोस् भन्न खोज्नु भा’, बालेनले वडाध्यक्षलाई बोल्नबाट हतोत्साहित गर्ने प्रयत्न गर्नुभयो ।

त्यतिमा मात्र मेयर बालेन रोकिनु भएन ।  ‘भनेपछि तिहार छिट्टै सक्काइदिनु पर्‍यो मैले, १० दिनको तिहार आजै कसरी सक्काइदिनु त मैले ? आजै सक्काउन मिल्छ तिहार ? ए ल ल तिहारलाई चाँडो सक्किन भन्छु म, हस् ’, बालेको जवाफ थियो ।

यस्तो जवाफ कि त नशामा झ्याप भएकोले दिन्छ, कि आफू बाहेक अरू सबैलाई बेकुफ बनाउनेले दिन्छ । बालेनले दिएको यो जवाफ कुनै जिम्मेवार मानिसले दिन जवाफ त हुँदै होइन ।