नेपालको वर्तमान आवश्यकता स्थायित्व, आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमान हो । यी तीन उद्देश्य पूरा गर्न सक्ने राजनीतिक शक्ति बन्ने जिम्मेवारी अहिले एमालेको काँधमा छ । पार्टीले आफ्नो सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्दै, सृजनात्मक नेतृत्व र वैचारिक दृढताका साथ देशलाई विकास र न्यायको बाटोतर्फ डोर्याउन सक्नुपर्छ
डा. टीका ढकाल
नेपाल कम्युनिस्ट पार्टी (एमाले) अहिले फेरि एक निर्णायक मोडमा उभिएको छ । प्रतिगामी षडयन्त्रको शिकार भइ गम्भीर चुनौतीबचि खडा भएको एमाले अहिले सवैको निसानामा छ । जहाँ उसले विगतको अनुभव, वर्तमानको चुनौती र भविष्यको दिशा एकैसाथ सोच्नुपर्ने अवस्था आएको छ । देशको राजनीतिक, आर्थिक र सामाजिक परिस्थिति अस्थिरता र जनअसन्तुष्टिको घेरामा छ । जनता अब वाचा होइन, व्यवहार हेर्छन्, नारा होइन, परिणाम चाहन्छन ।
यस्तो अवस्थामा बिरोधीको बिरोधलाई निस्तेज पार्दै एमालेलाई फेरि जनताको विश्वास पुनःस्थापित गर्न संगठनात्मक, वैचारिक र कार्यगत पुनर्जागरणको अभियानमा लाग्नैपर्छ । यही सन्दर्भमा मंसिर २७ देखि २९ गतेसम्म हुने आसन्न ११औं महाधिवेशन पार्टीका लागि ऐतिहासिक अवसर बनेको छ,जहाँ केवल नेतृत्वको चयन होइन, कर्याकर्ता र संगठनको आत्ममूल्याङ्कन र भविष्यको नीति दिशानिर्देशन हुने अपेक्षा गर्नु स्वभाविक छ ।
एमालेका २३ जनसंगठनहरू पार्टीका आधारभूत अंगका रुपमा समुदायमा क्रियाशील छन, जसले पार्टीलाई जस्तै शरीरका विभिन्न प्रणालीहरूले जीवन प्रदान गर्छन । यी संगठनहरू नेपाल बौद्धिक परिषद्, प्रेस चौतारी नेपाल, अखिल नेपाल महिला संघ, युवा संघ नेपाल, पेशागत महासंघ, किसान महासंघ, मानव अधिकार एलायन्स, बिद्यार्थी संगठनलगायतका सबै संगठन एमालेको मेरुदण्ड हुन्। मानव शरीरमा हृदयले रगत प्रवाह गर्छ, मस्तिष्कले सोच निर्देशन गर्छ, फोक्सोले श्वास चलाउँछ र स्नायुहरूले सम्पूर्ण शरीरमा प्रतिक्रिया समन्वय गर्छन । ठीक त्यस्तै, यी जनसंगठनहरूले आ–आफ्नो भूमिकाबाट पार्टीलाई सक्रिय, सशक्त र जीवन्त बनाएका हुन्छन् र बनाउनु पर्छ नै । कुनै एक संगठन कमजोर भयो भने पूरै पार्टी प्रणालीमा प्रभाव पर्छ, त्यसैले तिनीहरूबीच समन्वय, संवाद र एकीकृत दृष्टिकोण अत्यावश्यक छ ।
एमाले सत्तामा हुँदा मात्र होइन, अप्ठ्यारो घडीमा पनि जनताको साथमा रहनुपर्ने र रहने पार्टी हो। हाल देश अन्योल र बिकाराल अबस्थामा गुज्रिएको अबस्था छ । जेन्जी मात्र होइन, जेन एक्स, जे बाइ वा अल्फा बिटाको भबिष्य बोकेको पार्टी नेकपा एमाले मात्र हो । यतिबला देशमा अर्थतन्त्र निकै कमजोर छ, युवाशक्ति बिदेशिन बाध्य छन, किसान उत्पादनमा निराश छन, श्रमिक न्यूनतम अधिकारका लागि संघर्षरत छन ।
सबै वर्ग मूल्यवृद्धिबाट आक्रान्त छन । यस्ता समस्याहरूको समाधान राजनीतिक वक्तव्यले होइन, ठोश कार्यदिशाले मात्र सम्भव हुन्छ । त्यसैले पार्टीलाइ जिबन दिन पार्टी पङ्ति मात्र होइन, विभिन्न उदेश्य बोकेका जनसंगठनले घोषित उदेश्य मुलुक काम गर्नु पर्दछ । जस्तै अखिल नेपाल महिला संघले महिला र आत्मनिर्भरता र लैङ्गिक न्यायका अभियान सञ्चालन गर्नुपर्छ, युवा संघले सीप र रोजगारीमुखी अभियान विस्तार गर्नुपर्छ,किसान महासंघले उत्पादनमुखी नीति र बजार स्थायित्वमा दबाब सिर्जना गर्नुपर्छ ।बौद्धिक परिषद र प्रेस चौतारीले नीतिगत बहश र वैचारिक दिशा स्पष्ट पार्नुपर्छ र मानव अधिकार एलायन्सले नागरिक हक, कानुनी सचेतना र समानताका मुद्दा उठाउनुपर्छ । यसरि नै सबै संगठनहरू आफ्ना समुदायका वास्तविक समस्यासँग जोडिए सेवामूलक काम लागियो भने पार्टी पुनः जनविश्वासको केन्द्र बन्न सक्छ ।
अबको महाधिवेशन पार्टीको नीति, सिद्धान्त र संगठनात्मक अभ्यासलाई पुनर्समीक्षा गर्ने अवसर हो। एमालेले आफ्नो मूल विचार माक्र्सवादी–लेनिनवादी दर्शन र जनताको बहुदलीय जनवादलाइ यथार्थपरक रूपमा पुनव्र्याख्या गर्दै वर्तमान युगसँग मेल खाने व्यवहारिक समाजवादको बाटो समात्नुपर्छ । सिद्धान्तमा अडिग रहँदै पनि समयसापेक्ष सृजनशील दृष्टिकोण विकास गर्नु नै आधुनिक कम्युनिस्ट राजनीति हो । पार्टीभित्र विचारका बहशहरू स्वस्थ रूपले बढ्नुपर्छ, आलोचना आत्मसुधारको उपकरण बन्नुपर्छ, र अनुशासनलाई सशक्त बनाइनु पर्छ ।
महाधिवेशनमा केवल नेतृत्वको प्रतिस्पर्धा मात्र होइन, कार्यकर्ताको योगदान र विचारको मूल्याङ्कन हुनुपर्छ । नेतृत्वमा पुग्ने मापदण्ड व्यक्तिगत सम्बन्ध होइन, संगठनप्रतिको समर्पण, सिद्धान्तप्रतिको निष्ठा र जनसेवामा देखिएको कार्यक्षमता हुनुपर्छ । शीर्ष नेतृत्वले यसपटक युवा पुस्ताको प्रतिनिधित्व, महिला सहभागिता, पेशागत विविधता र बौद्धिक क्षमता सबैलाई सन्तुलित रूपमा प्रतिबिम्बित गर्नुपर्छ । नेतृत्व त्यो हो जसले केवल निर्देशन दिँदैन, सुनिन्छ, बुझिन्छ र जनताको आवाजसँग कदम मिलाउँछ ।
देश अहिले असमानता, बेरोजगारी, भ्रष्टाचार र राजनीतिक प्रतिस्पर्धाको कारण दिशाहीन बन्दै गएको अनुभूति जनतामा छ । राजनीतिक दलप्रति विश्वास घट्दै गएको यो अवस्थामा एमालेले फेरि विश्वासको दियो बाल्न सक्छ, यदि उसले नीति, कार्यशैली र जनसरोकारमा स्पष्टता ल्यायो भने । एमालेलाई पुनः जनताको मनमा स्थापित गर्न पार्टीका जनसंगठनहरूले आ–आफ्नो क्षेत्रमा सेवा र सुधारका ठोस उदाहरण दिनुपर्छ । जनताले नारा होइन, परिणाम चाहन्छन, त्यसैले विद्यालयदेखि खेत, उद्योगदेखि गाऊँ र केन्द्रदेखि स्थानीय सरकारसम्म एमालेको सन्देश जनसेवामा देखिनुपर्छ ।
महाधिवेशनले पार्टीका कार्यदिशालाई स्पष्ट पार्ने केही ठोश निर्णय गर्नुपर्नेछ । पहिलो, सबै जनसंगठनहरूको बीचमा समन्वय मजबुत हुनुपर्छ, जसले नीति, योजना र कार्यान्वयनमा एकरूपता ल्याओस । दोस्रो, डिजिटल प्रविधि प्रयोग गरेर संगठनात्मक सूचना र सदस्यता प्रणाली व्यवस्थित बनाउनुपर्छ । तेस्रो, आन्तरिक मूल्याङ्कन प्रणाली लागू गरी हरेक जनसंगठनले आफ्नो सामाजिक प्रभाव र जनसेवाको प्रतिवेदन प्रस्तुत गर्नुपर्छ । चौथो, नयाँ पुस्ताका कार्यकर्तालाई राजनीतिक शिक्षा, नीति–निर्माण र नेतृत्व विकासमा तयार पार्ने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ । पाँचौं, वैचारिक विद्यालय र अध्ययन केन्द्रहरू सशक्त बनाएर नीति निर्माणमा बौद्धिक सल्लाह संस्कृति प्रवद्र्धन गर्नुपर्छ ।

एमालेको शक्ति केवल मतपत्रमा होइन, विचार, कार्यसंस्कृति र संगठनमा रहन्छ । पार्टीका संगठित सदस्य मात्र होइन, २३ वटा जनसंगठनहरू र तिनका सदस्य सक्रिय र एकीकृत भए भने एमाले फेरि राष्ट्रको नेतृत्व गर्न योग्य शक्ति बन्न सक्छ । पार्टीले आफ्नो इतिहास सम्झनुपर्छ । कठिन समयमा जनतासँग सँगै हिँड्ने परम्परा नै एमालेको पहिचान हो । त्यसै आधारमा पार्टीले फेरि जनता समक्ष आफूलाई जनसेवक, परिवर्तनकारी र जिम्मेवार शक्ति भनेर प्रमाणित गर्नुपर्छ ।
नेपालको वर्तमान आवश्यकता स्थायित्व, आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमान हो । यी तीन उद्देश्य पूरा गर्न सक्ने राजनीतिक शक्ति बन्ने जिम्मेवारी अहिले एमालेको काँधमा छ । पार्टीले आफ्नो सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्दै, सृजनात्मक नेतृत्व र वैचारिक दृढताका साथ देशलाई विकास र न्यायको बाटोतर्फ डोर्याउन सक्नुपर्छ । जनता एमालेलाई विश्वास गर्न चाहन्छन् तर त्यो विश्वास कर्मले जित्नुपर्छ ।
एमालेले यदि अबको महाधिवेशनलाई अवसरका रूपमा लिएर संगठन सुदृढ, सिद्धान्त स्पष्ट र कार्य व्यवहारिक बनायो भने देशले फेरि एउटै नारा सुन्नेछ । एमाले देशको सार्वभौम हितको पहरेदार हो, जनताको हितको सच्चा प्रतिनिधि हो । यही बाटोबाट मात्र एमाले पुनः बृहत्, जनमुखी र सृजनशील शक्ति बनेर नेपालको भविष्य र स्वाभिमानको रक्षा गर्न सक्षम हुनेछ । यो काम आगामी महाधिवेशनबाट हुनैपर्छ ।
(लेखक ढकाल नेपाल बौद्धिक परिषद्को सचिव तथा प्रचार प्रमुख हुनुहुन्छ-सं)













प्रतिक्रिया दिनुहोस्