भक्तपुर, भदौ २३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेश सरकारलाई सुशासन, विकास र समृद्धिको दिशामा अघि बढाउँदै विगतमा सुरु भएर पुरा हुन बाँकि रहेका कामलाई निरन्तरता दिने बताउनुभएको छ।
मंगलबार भक्तपुरका सञ्चारकर्मीसँगको साक्षात्कार तथा भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नु प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो। उहाँले सरकारी सेवा प्रवाहलाई थप सहज, छिटो र प्रभावकारी बनाउन डिजिटल तथा अनलाइन प्रविधिको प्रयोगलाई प्राथमिकताका साथ अघि बढाउने धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, “वाग्मती प्रदेश सरकार सुशासन, विकास र समृद्धि तथा विगतका कामलाई सुचारु गर्ने दिशामा अघि बढ्नेछ, नागरिकलाई सेवा सहज प्रवाह गर्नु हाम्रो प्राथमिकतामा रहनेछ।”
मुख्यमन्त्री थापाले गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखिने बताउनुभयो। विशेषगरी ग्रामीण क्षेत्रमा रहेका अस्पताललाई थप सुविधा सम्पन्न र प्रभावकारी बनाउँदै नागरिकलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उहाँको भनाइ छ।
“अब हामीले डिजिटल र अनलाइन प्रविधिलाई अघि बढाउँछौँ, गुणस्तरीय शिक्षा र स्वास्थ्य सरकारको सबैभन्दा बढी प्राथमिकतामा रहन्छ, गाउँका अस्पताललाई सुविधासम्पन्न बनाउने कुरामा प्रदेश सरकार लाग्नेछ,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री थापाले भक्तपुरलाई स्वास्थ्य सेवाको प्रमुख केन्द्र अर्थात् ‘स्वास्थ्य हब’का रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। भक्तपुरमा हाल भएका स्वास्थ्यसम्बन्धी पूर्वाधार तथा सेवाहरूलाई थप व्यवस्थित र विस्तार गर्दै देशका विभिन्न जिल्लाबाट उपचारका लागि नागरिक आउने वातावरण निर्माण गरिने उहाँले बताउनुभयो।
“भक्तपुरलाई स्वास्थ्यको हब बनाउने कुरामा हामी लाग्नेछौँ। केही काम भएका छन्, यसलाई अझ व्यवस्थित गर्नेछौँ। भक्तपुरमा ७७ वटै जिल्लाका मानिस उपचार गर्न आउने गरी विकास गर्छौँ,” मुख्यमन्त्री थापाले भन्नुभयो।
उहाँले आफ्नो कार्यकालमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूबाट जानाजान कुनै गल्ती नहुने बताउनुभयो। अनजानमा गल्ती भएमा सञ्चारकर्मी तथा नागरिकबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै सुधार गरेर अघि बढ्ने उहाँको भनाइ छ।
“म जति समय रहन्छु, इमान्दारसाथ काम गर्छु, म जानेर कुनै पनि गल्ती गर्दिनँ, नजानी गल्ती भयो भने यहाँहरूबाट सुझाव पाउँ, सुधारेर अघि बढ्छु,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री थापाले प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन सञ्चारकर्मी तथा नागरिकको रचनात्मक सुझाव र सहयोग आवश्यक रहेकोसमेत बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्