जनता टाइम्स

२४ भाद्र २०८३, बुधबार ०७:२५

म्याग्दी नदीमाथि झोलुङ्गे पुल बनेपछि किसानको उत्पादन बजार पुर्‍याउन सहज


म्याग्दी, भदौ २४ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं. ४ बाँसबोट जोड्ने ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

सङ्घीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन, काठमाडौंले म्याग्दी नदीमाथि पुल निर्माण गरेको हो। पुल निर्माणपछि हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम र काफलडाँडाका बासिन्दा लाभान्वित भएका छन्।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार पुल बनेपछि बाँसबोटका किसानले उत्पादन गर्दै आएको केरालगायत कृषि उपज बजारसम्म पुर्‍याउन सहज भएको छ।

पुल निर्माणका लागि २०८२ असारमा रामकृष्ण–सोमरस जेभीसँग १ करोड ६४ लाख १५ हजार २५४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। १८ महिनाको ठेक्का अवधि रहे पनि निर्माण कम्पनीले निर्धारित समयमै काम सम्पन्न गरेको जनाएको छ।

निर्माण कम्पनीका प्रतिनिधि प्रविन सापकोटाले तोकिएको समयभित्रै पुल निर्माण सम्पन्न गरिएको बताउनुभएको छ।

धवलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाका अनुसार पुल बनेपछि स्थानीयको आवतजावत सहज हुनुका साथै यात्रा अवधि पनि छोटिएको छ। उहाँका अनुसार यसअघि करिब एक घण्टा लाग्ने दूरी पुल बनेपछि करिब पाँच मिनेटमै पार गर्न सकिने भएको छ।

पुलले स्थानीय बासिन्दाको दैनिक आवतजावतसँगै यस क्षेत्रको पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

धवलागिरि गाउँपालिकामा यसअघि पनि ३०० मिटरभन्दा लामा दुईवटा झोलुङ्गे पुल निर्माण भइसकेका छन्। वडा नं. ६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा ३६५ मिटर तथा वडा नं. ३ फलियागाउँ र दर जोड्ने दरखोलामा ३६६ मिटर लामो पुल निर्माण गरिएको छ।

नयाँ पुलसहित म्याग्दीमा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुलको संख्या सात पुगेको छ। रघुगंगा गाउँपालिका–१ बेग र बादुक जोड्ने ३६५.८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर तथा अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने ३४४ मिटर लामो झोलुङ्गे पुल यसअघि नै निर्माण भइसकेका छन्।