जनता टाइम्स

२३ भाद्र २०८३, मंगलवार २०:३१

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा


काठमाडौं, भदौ २३ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहानसम्म दुवै कोषमा गरी ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको छ।

हाल नौ वटा वाणिज्य बैंकमा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ।

कोषमा जम्मा भएको रकममध्ये यसअघि १ अर्ब रुपैयाँ रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा भइसकेको छ।

यस्तै, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ रुपैयाँ बराबरको रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।