रामेछाप, कात्तिक २ । आयुर्वेदका जनक धनवन्तरीको जन्मजयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा आइतबार मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापमा विशेष कार्यक्रमका साथ धनवन्तरी जयन्ती मनाइएको छ।
वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको सो चिकित्सालयमा आयोजित कार्यक्रम चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा धनवन्तरीको पूजा–आराधना गरी श्रद्धाभावपूर्वक दिवस मनाइएको हो। कार्यक्रममा सहभागी आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले धनवन्तरी वन्दना गर्दै आयुर्वेद विद्यामा निपुर्णता र सम्पूर्ण मानव समुदायको आरोग्यको कामना गरेका थिए।
धनवन्तरीलाई पूर्वीय चिकित्सा जगतका सूत्रधार तथा हिन्दु धर्ममा देवपद प्राप्त चिकित्सकका रूपमा मानिन्छ। उहाँलाई भगवान् विष्णुको अवतारका रूपमा समेत पूजिन्छ। धार्मिक ग्रन्थअनुसार देव–असुर सङ्ग्रामको समयमा असुरहरूको अत्याचारबाट पीडित देवतालाई उद्धार गर्न भगवान् विष्णुले धनवन्तरीको रूपमा अवतार लिनुभएको थियो। त्यसपछि उहाँ आयुर्वेदका प्रणेता तथा चिकित्साशास्त्रका आधारस्तम्भ बन्नुभएकाे छ ।
धर्मशास्त्र र पुराणहरूमा धनवन्तरीलाई ‘शल्यतन्त्र’ अर्थात् शल्य विज्ञानका ज्ञाता र सम्पूर्ण आयुर्वेद प्रणालीका सर्जकका रूपमा चित्रण गरिएको पाइन्छ। इतिहासअनुसार उहाँले आयुर्वेदको आठ विभागमा आधारित ‘अष्टाङ्ग आयुर्वेद’को विकास गर्नुभएकाे थियाे ।

कथनअनुसार धनवन्तरी काशीका राजा धन्वका पुत्र हुनुहुन्थ्याे । जसले देवता अज्जको आराधना गरेर धनवन्तरीलाई वरदानस्वरूप प्राप्त गर्नुभएकाे थियाे । उहाँलाई वैज्ञानिक प्रयोगका अग्रदूत मानिन्छ । धनवन्तरिले सुनबाट अमृत निर्माण गर्ने प्रयास गर्नुभएकाे थियाे भन्ने विश्वास छ। साथै, उहाँले वनस्पतिको अध्ययन गरी तिनका रूप, गुण, प्रभाव र दुष्प्रभावको व्यवस्थित विवरण तयार गर्नुभएकाे थियाे।
आयुर्वेद ग्रन्थअनुसार धनवन्तरिको समय ईशापूर्व ७ हजार वर्षअघि रहेको मानिन्छ। नेपाली पञ्चाङ्ग अनुसार उहाँको जन्म कात्तिक कृष्ण पक्षको त्रयोदशी अर्थात् ‘धनतेरस’ अर्थात् काग तिहारका दिन भएको हो।
धनवन्तरिको शिक्षामा मानव स्वास्थ्यको संरक्षण, रोग नलाग्ने पूर्वतयारी र रोग लागेपछि निवारण गर्ने विधि समावेश छन्। उहाँका अनुसार मृत्युका सय प्रकारमध्ये काल मात्र स्वाभाविक मृत्यु हो, बाँकी ९९ अकाल मृत्यु हुन्, र ती रोक्ने प्रयास नै आयुर्वेदको मूल उद्देश्य हो।
धनवन्तरिका नाति देवदासले उहाँका शल्यशास्त्रीय सिद्धान्तहरूलाई परिमार्जन गरी सुश्रुतलगायत शिष्यहरूलाई शिक्षण–प्रशिक्षण दिनुभएकाे थियाे । जसको परिणामस्वरूप आयुर्वेद चिकित्सा विज्ञान अझ व्यवस्थित रूपमा विकसित भयो।
मानव स्वास्थ्य र दीर्घायुसँग सम्बन्धित आयुर्वेदको उद्देश्य शारीरिक, मानसिक तथा सामाजिक समृद्धि हो। यही लक्ष्य प्राप्त गर्न प्राचीन ऋषिहरूले आयुर्वेदलाई ब्रह्माबाट उत्पन्न आठ अङ्गमा विभाजित गरेको उल्लेख छ। जसलाई आज पनि आरोग्यमय जीवनको सूत्रका रूपमा लिइन्छ।













प्रतिक्रिया दिनुहोस्