जनता टाइम्स

३ कार्तिक २०८२, सोमबार १४:४९

प्रचण्डको सचिवालयबाट बाहिरिइन छोरी गंगा


काठमाडौं, ३ कात्तिक । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिनुभएको छ । आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएको दाबी गर्दै सचिवालयबाट राजीनामा दिनुभएको हो ।

‘म गर्वका साथ भन्छु, मैले आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम गरिनँ । सहयोगीको रूपमा राम्रो गर्ने कोसिस गरेँ, तर जति विवादरहित भएर काम गर्न खोजे पनि विवादमा त पर्नैपर्ने रहेछ,’ सोमवार गंगाले फेसबुकमा जानकारी दिँदै गंगाले लेख्नुभएको छ । उहाँले आफू र परिवारविरुद्ध भइरहेको भ्रामक प्रचारप्रति आपत्ति पनि जनाउनु भएको छ ।

‘कहिले लाखौंको ब्याग भनिन्छ, कहिले लाख पर्ने घडी । मैले त्यस्ता सामान कहिल्यै किनिनँ । साथीहरूले जन्मदिनमा दिएको उपहार थियो, त्यो पनि जलेर खरानी भइसकेको छ, तर अझै पनि त्यही कुरा दोहोर्याएर प्रहार गरिन्छ,’ गंगाले भन्नुभएको छ ।

गंगाको बिज्ञप्ति जस्ताको तस्तै

मेरा बारेमा पछिल्लो समयमा बिभिन्न संचार माध्यममा आएका भ्रामक समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ । म, बुवा (नेकपा माओवादी केन्द्रका संयोजक कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको देहवसान पछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा जिम्मेवारी लिएर आए । मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइ प्रकाशले निभाउँदै आएको भुमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरुको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफुले सकेको सहयोगको कोशिस गरिरहे ।

यस दौरानमा सवैको भावना अनुसार काम गर्न सकिन होला त्यसका लागि आत्मआलोचित हुँदै यति चाही म गर्वका साथ भन्छु मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन । सधै सहयोगीका रुपमा राम्रो गर्ने कोशिस गरिरहे। तर दु:ख लाग्छ, यो ठाउ नै त्यस्तै होकी जति राम्रो गर्छु भन्दा पनि, जति नै बिवादरहित भएर काम गर्छु भन्दा पनि बिवादमा त परिहालिने रहेछ। । म, मेरा दिदीहरू र भाइलाई महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियो। कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरा बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्।

निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु 

कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।

निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु । पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।