काठमाडौं, कात्तिक ३ । सैनिक प्रहरीले नेपाली सेनाका तीन जना उच्च अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सैनिक प्रहरीले सिंहदरबारस्थित नरसिंह दल गणका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्का, भवानी बक्स गण सिन्धुलीका तेजेन्द्र मगर र सैनिक स्कूल धनगढीस्थित तेघरी ब्यारेकका शिव भडेललाई नियन्त्रणमा लिएको हो ।
सैनिक मुख्यालय स्रोतका अनुसार तीनै जनालाई असोज ३१ गते सरुवा गरिएको सर्कुलर निकालेर भित्रभित्रै सैनिक हिरासतमा राखेको हो । सैनिक मुख्यालय स्रोतले तीनै जना कर्णेललाई भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा जंगीअड्डा बोलाएर सैनिक हिरासतमा राखी सोधपुछ थालिएको बताएको छ ।
सैनिक सचिव विभागको आन्तरिक सर्कुलरअनुसार कर्णेल खड्कालाई नम्बर २ बाहिनी अड्डा धनकुटा सरुवा गरिएको थियो । खडकाले भदौ २४ गतेको विध्वंशका बेला सिंहदरबारमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतलाई त्यहीँको नरसिंहदल गणमा आश्रय दिनुभएको थियो । तर सिंहदरवारभित्र दिनदहाडै त्यत्रो आगलागी र क्षति हुँदा पर्याप्त सावधानी अपनाउन नसकेको कारण हिरासतमा लिइएको बताइएको छ ।
सिंहदरवारको पश्चिमी मूलगेटबाट सशस्त्रका एसएसपी राजेश उप्रेतीले हवाई फायर गरी उपद्रवकारीलाई एक खेप भगाउँदा भित्र रहेको सेनाको उपस्थिति देखिएको थिएन । बिध्वँशकारीले प्रहरीको बन्दुक पड्काउन थालेपछि बल्ल सशस्त्र पछि हटेको भिडियोहरु फेला परेको छ । सोही कारण खडकामाथि छानविन अघि बढाइएको हो ।
यस्तै सिन्धुलीको भवानीबक्स गणमा गणपति रहेका अर्का कर्णेल तेजेन्द्र मगरलाई ५ नम्बर बाहिनी अड्डा पुर्याइएको बताएर हिरासतमा राखिएको छ । मगरमाथि जेलका कैदीबन्दी भाग्दा रोक्न पहल नगरेको अभियोग लागेको छ । हिरासतमा परेका कर्णेल शिव भडेलमाथि भने टिकटक काण्ड लागेको सैनिकस्रोतको दावी छ । जेनजी आन्दोलनको क्रममा सिंहदरवार र सर्वाेच्च अदालत जलाउने काम भएपछि सेनाको चौतर्फी आलोचना भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्