जनता टाइम्स

४ कार्तिक २०८२, मंगलवार ११:२६

युवा संघले जेनजी आन्दोलन हिंसात्मक बनाउनेहरुको प्रमाण सङ्कलन गर्ने,अब टोल-टोलमा डिजे फोर्स गठन गर्ने उद्घोष


काठमाडौं, कात्तिक ४। पार्टी नेतृत्वको निर्देशनअनुरूप राष्ट्रिय युवा सङ्घ नेपालले हाल तीनवटा प्रमुख जिम्मेवारी काम तीव्र गतिमा अगाडि बढाएको जनाएको छ।

सङ्घले ‘जेनजी आन्दोलन’जस्ता घटनालाई हिंसात्मक बनाउने गरी काम गरेको र त्यसमा संलग्न विदेशी वित्तीय स्रोत तथा गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ)का नाम–ठेगाना सङ्कलन गर्ने प्रक्रिया सुरु गरेको हो ।  नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार राष्ट्रिय युवा सङ्घ नेपालले जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउने मुख्य भूमिका खेलेका एनजिओ/आइएनजिओ मार्फत देशलाई बरबाद पार्ने, विदेशीसँग आर्थिक लाभ लिने सबैको नाम र विवरण सङ्कलन गर्ने काम सुरु भएको छ ।

’जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका एनजिओ आइएनजिओ मार्फत देशलाई बरबाद पार्ने, विदेशीसँग आर्थिक लाभ लिने सबैको नाम र विवरण सङ्कलन गर्ने काम सुरु भएको छ, एक जनालाई मात्र लिफ्ट प्रयोग गर्ने अनुमति भएको काठमाडौंको एक सरकारी कार्यालयमा को-को बसेर देशको मुटु जलाउने योजना बनाए भन्ने डरलाग्दो सूचना पनि प्राप्त भएको छ’, बस्नेतले भन्नुभयो ।

भदौ २४ मा भएका तोडफोड तथा आगजनी, सरकारी/व्यक्तिगत सम्पत्ति नष्ट गर्ने घटनासँग सम्बन्धित व्यक्तिहरूको विषयमा हालसम्म ६ हजार ३ सय ४७ वटा भिडियो क्लिप र ती व्यक्तिहरूका व्यक्तिगत विवरण सङ्कलन गरिएको पनि उहाँले जानकारी दिनुभयो। ‘भदौ २४ गते सरकारी र व्यक्तिगत सम्पत्ति तथा प्रहरी चौकी नष्ट गर्ने र तोडफोड गर्ने व्यक्तिहरूको विषयमा अहिलेसम्म ६ हजार ३ सय ४७ वटा भिडियो क्लिप र उनीहरूको व्यक्तिगत विवरण प्राप्त भएको छ, यसरी प्राप्त विवरणहरू विवरण बैङ्कमा राखिएको छ, अन्य विवरण पठाउन सबैमा अनुरोध गर्दछु’, बस्नेतले भन्नुभयो ।

देश जलाएर बनेको अहिलेको सरकारले सरकारी र व्यक्तिगत सम्पत्तिमा आगजनी गर्ने र सुरक्षाकर्मीलाई मार्नेहरूको संरक्षण गर्ने नीति लिएको भन्दै ती ती अपराधीहरूलाई उन्मुक्ति नदिने बस्नेतले प्रष्ट पार्नुभयो । उहाँले एमालेले देश र जनताको रक्षा गर्ने दाबी गर्दै आगामी दिनहरूमा थप कदम चालिने बताउनुभयो ।

बस्नेतले राष्ट्रिय युवा संघ नेपालले देशभरका प्रत्येक टोलमा डिजिटल जेनेरेसन फोर्स (DG- Force) वा टोल सुरक्षा समूह गठन गर्ने कार्यक्रम अघि बढाइएको जानकारी पनि दिनुभयो। उहाँका अनुसार यी समूहहरूले स्थानीय स्तरमा अपराध नियन्त्रणमा सहयोग गर्ने, प्रहरीको मनोबल बढाउने र समुदायमा स्वतन्त्र निगरानीको एउटा माध्यम बन्ने छन्। ‘तिनले प्रहरीको मनोबल बढाउने र स्थानीय तवरमा भएका अपराध नियन्त्रणका लागि सहयोग गर्ने छ,’ उहाँले भन्नुभयो ।