काठमाडौं, कात्तिक ४। नेकपा (एमाले) का नेता महेश बर्तौलाले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका ओमप्रकाश अर्यालले नै देशको शान्ति, सुरक्षा र आगामी निर्वाचन प्रक्रियामा मुख्य चुनौती सिर्जना गरिरहेको बताउनुभएको छ । देशभर बढ्दै गएको अराजकता, हिंसा र अस्थिरताका घटनाको जरो गृह मन्त्रालयकै नेतृत्वमा रहेको उहाँको दाबी छ ।
नेता बर्तौलाले सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्नु भएको छ, ‘यदि निष्पक्ष छानबिन र अनुसन्धान गरिने हो भने जेन जेड (Gen Z) युवाहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी विध्वंस मच्चाउने नर्सरीका मुख्य माली नै गृहमन्त्री अर्याल हुनुहुन्छ भन्ने निष्कर्ष निस्कनेछ।’
अर्याल अहिलेसम्म पनि ‘ईर्ष्या, डाह, कुण्ठा र आक्रोश’ जस्ता व्यक्तिगत मानसिकताबाट मुक्त हुन नसेकेको कारण देशको आन्तरिक सुरक्षामा आवश्यक जिम्मेवारी पूरा हुन नसकेको बर्ताैलाकाे ठहर छ। ‘गृहमन्त्रीले लुटिएका हतियारहरू फिर्ता खोज्ने प्रयास गर्नुभएको छैन, सुरक्षाकर्मीहरूको दबिएको मनोबल उठाउने चासो देखाउनुभएको छैन, भागेका कैदीबन्दीहरू कहाँ छन् भन्नेमा पनि ध्यान दिनुभएको छैन, हरेक दिन जसो हत्या र हिंसाका घटना भइरहेका छन्, तर उहाँले त्यसमा चिन्ता प्रकट गर्नुभएको देखिँदैन’, बर्ताैलाले लेख्नु भएको छ ।
नेता बर्तौलाका अनुसार गृहमन्त्री अर्यालले शान्ति र स्थिरताको सट्टा देशमा अस्थिरता र उत्तेजना सिर्जना हुने कार्यलाई प्रवर्द्धन गरिरहनु भएको छ। उहाँले लेख्नु भएको छ, ‘गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, शीर्ष नेताहरू र राजनीतिक दलहरूलाई भड्काउने, उत्तेजित पार्ने र अस्थिरता बढाउने अभिव्यक्ति दिइरहनुभएको छ।’
बर्तौलाले गृहमन्त्री अर्यालमाथि फागुन २१ गतेका लागि तोकिएको निर्वाचन प्रक्रियालाई अवरुद्ध गर्न ‘अराजकता र अशान्ति बढाउने रणनीति’ अपनाउनुभएको उल्ले गर्नु भएको छ। उहाँका भनाइमा, ‘गृहमन्त्रीज्यूले बुझ्नुभएको छ- यस्तै तरिकाले अघि बढेमा मात्रै आगामी निर्वाचनको कार्यादेश टार्न सकिन्छ र आफ्नो पदमा थप समय बसिरहन सकिन्छ।’
नेता बर्तौलाले गृहमन्त्री अर्याल जनादेशबाट होइन, ‘षड्यन्त्रकारी शक्तिहरूको मिलीभगतबाट’ पदमा पुग्नुभएको दाबी गर्नुभएको छ। उहाँका अनुसार गृहमन्त्री अर्यालले जेन जेड युवाहरूको भावना र आकाङ्क्षा माथि धोका दिँदै शान्तिपूर्ण आन्दोलनलाई बदनाम गर्ने भूमिका खेल्नुभएको हो।
बर्तौलाले अर्यालको पेसागत पृष्ठभूमि उल्लेख गर्दै लेख्नु भएको छ, ‘गृहमन्त्री अर्यालज्यू गोरु वधको पक्षमा वकालत गर्नुभएको लाइसेन्स प्राप्त वकिल समेत हुनुहुन्छ, जसले समाजमा धार्मिक अशान्ति निम्त्याउने प्रयास गर्नुभएको छ।’
बर्ताैलाले वडा सदस्यसम्म नभएका अर्याल जनादेश, संविधान र जनता प्रति उत्तरदायी नरहेको बताउनुभएको छ । ‘गृहमन्त्री अर्याल जनता वा देश होइन, केवल आफ्नै निजी स्वार्थ र राजनीतिक षड्यन्त्रप्रति मात्र उत्तरदायी हुनुभएको छ,’ नेता बर्तौलाको भनाइ छ।
उहाँले जनताको भरोसा बोक्ने नेतृत्वले सधैँ जनादेशको सम्मान गर्ने र नियमित निर्वाचन प्रक्रियाप्रति विश्वास गर्ने उल्लेख गर्नु भएको छ। ‘जनता प्रति भरोसा हुनेहरूले सदैव जनदेशलाई सम्मान गर्छन्, तर जनता प्रति भरोसा नभएकाहरू आतङ्क, विध्वंस र विनाशमा मात्रै विश्वास गर्छन्,’ उहाँको भनाइ छ।
नेता बर्तौलाले गृहमन्त्री अर्याललाई ‘झुट, षड्यन्त्र र अराजक प्रवृत्तिको प्रतीक’का रूपमा चित्रण गर्दै देशमा शान्ति र स्थिरता कायम गर्न उहाँले तत्काल आफ्नो जिम्मेवारीबाट अवकाश लिनु उचित हुने टिप्पणी गर्नुभएको छ।
यस्तो छ उहाँको स्ट्याटस













प्रतिक्रिया दिनुहोस्