जनता टाइम्स

८ मंसिर २०७६, आईतवार १३:५२

तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु


तनहुँ, मंसिर ८

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग१७प १२९८ नंको मोटरसाइकलको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

तामाङको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । घाइतेलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइसकेको छ ।