जनता टाइम्स

५ कार्तिक २०८२, बुधबार ०७:३१

गृहमन्त्री ओम अर्यालका अभिव्यक्ति र गतिविधिको कडा आलोचना


काठमाडौं,  कातिक  ५ । जेन–जी आन्दोलनपछि चुनावी प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक राजनीतिक दलहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले दलका नेताहरूसँग पर्यवेक्षक राखेर गरेको संवादमा गृहमन्त्री ओम अर्यालका अभिव्यक्ति र गतिविधिको आलोचना भएको छ ।

चुनाव गराउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने जिम्मेवारीमा रहेका गृहमन्त्री अर्यालले दलका नेताहरूलाई लक्षित गर्दै दिएका अभिव्यक्ति र पद सम्हालेपछि गरिरहेका गतिविधिको दलका नेताहरूले आलोचना गरेका हुन् । चुनाव गराउनका लागि गठित सरकारका गृहमन्त्रीले राजनीतिक दलमाथि विजय हासिल गरेको जस्तो अभिव्यक्ति र व्यवहार देखाएको भनेर नेताहरूले आलोचना गरेका थिए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार दलहरूलाई निषेध र अपमानित गर्ने, नेताहरूलाई होच्याउने लगायतका गृहमन्त्रीका अभिव्यक्तिको आलोचना भएको बताउनुभयो । एमालेले सुरक्षा चुनौती रहेका नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने कार्य गलत भएको बताएको थियो ।

गृहमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि दलहरूको आक्रोश थियो । भदौ २३ र २४ को घटनाको अनुसन्धानमा दोहोरो मापदण्ड अपनाएको, भागेका कैदी र लुटिएका हतियार प्रयोग गर्दैनौँ भनेर दलहरूले ग्यारेन्टी गर्नुपर्छ भनी गृहमन्त्रीले दिएको अभिव्यक्ति लगायतमा आपत्ति थियो, ज्ञवालीले भन्नुभयो, दलहरूमाथि विजय हासिल गरेका हौँ भन्ने लागेको छ भने आपत्तिजनक छ भन्ने कुरा दलका नेताहरूले राख्नुभएको थियो ।

बैठकमा सहभागी एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि गृहमन्त्री अर्यालको आलोचना भएको बताउनुभयो। चुनाव गराउन गठित सरकारका गृहमन्त्रीको व्यवहार र अभिव्यक्तिले वातावरण नबन्ने हो कि भन्ने आशंका दलहरूले गरेका थिए । राजनीतिक दलहरूले लुटिएका हतियार प्रयोग नगर्ने र भागेका कैदीबन्दीलाई चुनावमा प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, भदौ २४ को लुटपाट, आगजनी र प्रहरीको हत्यामा संलग्नलाई कारबाही नगर्नु भनी गृह मन्त्रालयले जारी गरेको पत्र, कांग्रेस नेता दीपक खड्का भागे र अरू नेता पनि भाग्दैछन् भनी गृहमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर अर्यालको आलोचना भएको थियो ।

त्यस्तै, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लगायतलाई काठमाडौं उपत्यका छोड्न प्रतिबन्ध लगाएको सम्बन्धमा पनि दलहरूले आपत्ति जनाएका थिए । संविधानले हिड्डुल गर्न प्रतिबन्ध लगाएको छैन तर केपी ओलीलाई उपत्यका नछोड् भन्ने निर्णय भएको छ । ओलीले थुन्ने अपराध गरेको भए पक्राउ गरे भयो भन्ने कुरा बैठकमा उठेका थिए, पाण्डेले भन्नुुभयो जेन–जीलगायतका युवाहरूलाई उक्साउने काम पनि भएका छन् भन्ने कुरा छलफलमा उठेका छन् । निर्वाचनमा जाँदा तिहार र छठपछिको अवस्थाका लागि सरकारले कसरी तयारी गरिरहेको छ भन्ने प्रश्न पनि बैठकमा उठेको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीले चुनावको वातावरण बनाउनका लागि सरकारका मन्त्री र सुरक्षा अंगहरू अहोरात्र खटिइरहेको बताएकी बताउनुभएको थियो । उहाँले दलहरूलाई चुनावमा सहभागी हुन आग्रह गर्दै भन्नुभएको थियो, चुनावको वातावरण बनाउन अहोरात्र खटिएर मन्त्री, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ । राजनीतिक दलहरूसँगको संवाद सौहार्दपूर्ण रहेको पनि प्रधानमन्त्री कार्कीले दलहरूको सहयोगमा नै चुनाव सफल हुने बतानुभएको थियो । उहाँले दलहरूको सहयोगबिना सरकारले मुख्य ध्येय रहेको निर्वाचन सफल नहुने बताउनुभएको थियो ।