काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशभर आगजनी र लुटपाट भएको बताउनुभएको छ । उहाँले आन्दोलनको आवरणमा योजनाबद्ध रूपमा सार्वजनिक सम्पत्ति र एमाले नेता-कार्यकर्ताको घर–घरमा आक्रमण र सम्पत्ति लुटिएको बताउनुभयो ।
बुधबार बालकोटस्थित आफ्नो घरमा भएको आगलागी र क्षतिको स्थलगत अवलोकन गर्नुभएका ओलीले कात्तिक २३ र २४ को घटनालाई पूर्वनियोजित आपराधिक षडयन्त्रको रूपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो, ‘जेनजी आन्दोलनका नाममा छानिछानी व्यक्तिका घर जलाउने र लुट्ने काम भयो ।’

उहाँले आफ्नो घरबाट विभिन्न अवसरमा प्राप्त उपहारहरू समेत चोरी गरी लगिएको बताउनुभयो । उनीहरूलाई काम नलाग्ने सामान मात्र जलाइएको ओलीको भनाइ छ । ‘केही मूर्ति त एक/दुई जनाले उचाल्न पनि नसक्ने थिए, ती समेत लुटेर लगिएका छन् ।’
ओलीले यस घटनालाई सामान्य आन्दोलन नभई ‘आपसी द्वेष र अपराधी प्रवृत्तिको प्रदर्शन’का रूपमा लिनुभएको छ । उहाँले भन्नुभयो, ‘खास आपराधिक समूहले यस कुरामा उद्योग गरिरहेको थियो, तर सफल हुन सकेको थिएन, यो प्रयास धेरै अगाडिदेखि चलिरहेको थियो, अहिले सफल भए।’
एमाले नेता-कार्यकर्ताको घरहरूमा गरिएको तोडफोड, आगजनी र लुटपाटलाई ओलीले पूर्वतयारीसहितको राजनीतिक हिंसा भएको बताउनुभयो । उहाँले यसअघि पनि सिंहदरबार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउन आह्वान गर्ने समूह अहिले पुनः सक्रिय भएको दाबी गर्नुभयो । ‘यो नेपालका विरुद्ध भयानक षडयन्त्र थियो,’ उहाँले भन्नुभयो, ‘देशको स्थायित्व, विकास र शान्ति प्रक्रियालाई कमजोर पार्ने नियतले यस्तो काम गरियो ।’

जेनजी आन्दोलनका नाममा देशभर हत्या, हिंसा र ध्वंसात्मक गतिविधिहरू भएका बताउँदै उहाँले विद्यार्थीहरूलाई समेत आन्दोलनको नाममा राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको टिप्पणी गर्नुभयो। शान्ति क्षेत्रका रूपमा रहेका विद्यार्थीलाई समेत ट्र्यापमा पारिएको उहाँले बताउनुभयो ।
ओलीले घटनामा संलग्नहरू विदेशबाट आएका नभई देशकै भएका खुलासा गर्नुभयो । उहाँका अनुसार ती मध्ये कतिपयको पहिचान भइसकेको छ भने बाँकीको पहिचान प्रक्रिया जारी छ । तर, सरकार ती अपराधीलाई कारबाही गर्न इच्छुक नरहेको ओलीले बताउनुभयो । ‘गृह मन्त्रीको मनसाय र गन्तव्य हेर्दा लुटपाट, आगजनी र त्यसको पक्षमा उहाँहरूको मनोभाव देखिन्छ, जसको क्षति भएको छ, जसलाई मार्का परेको छ, सरकार उसैको दुश्मन बनेको छ, त्यस माथि म माथि अझ धेरै दुश्मनी साँध्दै छ, मलाई गम्भीर आशङ्का छ–सरकार माथि’, उहाँले भन्नुभयो।

ओलीले नेकपा एमाले कुनै पनि किसिमको अपराध, अनियमितता र कानुनविहीनतालाई सहन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा एमाले छ, जसले कानुनको शासनमा विश्वास गर्छ, जसले अपराध गर्छ, त्यो जसकै भए पनि एमालेले छाड्दैन।’
भ्रष्टाचार, अनियमितता र जनविरोधी गतिविधिका विरुद्ध एमालेले दृढ संघर्ष जारी राख्ने उहाँको भनाइ छ । उहाँले देशमा न्याय र कानुनको सम्मान कायम राख्न सबै नागरिक एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो ।
ओलीले जेनजी आन्दोलनका क्रममा घर–सम्पत्ति लुटिएका, जलेका र पीडित बनेकाहरूले न्याय पाउनु पर्नेमा जोड दिनुभयो । ‘जसले ध्वंस मच्चाएको छ, जसका कारण निर्दोष नागरिक पीडित भएका छन्, तिनीहरूलाई कानुनी रूपमा कारबाही गर्नैपर्छ,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्