काठमाडौं, कात्तिक ५ । प्रधानमन्त्री सुशीला कार्कीलाई नै पक्राउ गरी निष्पक्ष छानबिन तथा कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिइएको छ ।
जेनजी आन्दोलन नेपालको तर्फबाट रविकिरण हमालले प्रधानमन्त्री कार्कीलाई पक्राउ गरी निष्पक्ष छानबिन थाल्न प्रहरी महानिरीक्षकलाई निवेदन दिनुभएको हो । जेनजी आन्दोलनमा राप्रपा निकट रहेको खुलेपछि हमाल बिवादमा पर्नुभएको थियो ।
कार्कीले जेनजी विद्रोहका क्रममा देशका युवाहरूको रगतमाथि कू गरेर प्रधानमन्त्री पदमा आसीन भएको हमालकोको आरोप छ ।
‘प्रधानमन्त्री कार्कीले जेनजी विद्रोहका क्रममा देशका युवाहरूको रगतमाथि सत्ता कू गरेर प्रधानमन्त्री पदमा आसीन भएको अवस्था छ। उहाँको यो कदमले कानूनी परम्परा र जनताको म्यानडेटको स्पष्ट उल्लङ्घन गरेको छ। यसरी अवैधानिक तरिकाले सत्ता कब्जा गर्नु देशको गरिमा, गोपनीयता र राष्ट्रिय मर्यादाविपरीत भएको र यसले गम्भीर राष्ट्रघातको खतरा उत्पन्न गरेको देखिन्छ,’ सामाजिक सञ्जालमा सार्वजनिक हमालको निवेदनमा भनिएको छ ।
यस्तै हमालले सुशीला कार्कीलाई तत्काल पक्राउ गरी निष्पक्ष, पारदर्शी र खुला कानूनी छानबिन गर्न माग गर्नुभएको छ । ‘अपराधी जुनसुकै पदमा भए पनि कानूनी उत्तरदायित्वबाट उम्कन नपाओस् भन्ने हाम्रो दृढ विश्वास छ। यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल र निष्पक्ष कारबाही होस् भन्ने अनुरोध गर्दछौं,’ हमालको निवेदनमा भनिएको छ ।













प्रतिक्रिया दिनुहोस्