भक्तपुर, कात्तिक ७ । एमाले अध्यक्ष केपी शर्मा ओलीको लागि भक्तपुरको गुण्डुमा आवास निर्माण हुने भएको छ ।
गुण्डुबासीको भावनात्मक पहलमा ओलीको लागि आवास बन्न लागेको नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । ओलीको लागि ‘ओलीकुटी’ निर्माणको लागि गुण्डुबासीले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको बालकोट स्थित निवासमा जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते उत्श्रृङ्खल व्यक्तिहरूले आगो लगाइदिएका थिए । ओलीले राज्यलाई दिइसक्नु भएको सो भवनमा महत्त्वपूर्ण पुस्तक तथा ओलीलाई जीवनभरि प्राप्त भएका विभिन्न उपहारहरू संग्रहित थिए ।
सो घरमा भएका अमूल्य सामान तथा मूर्तिहरू लुटपाट गरेर लगिएको छ भने घर आगो लगाएर पूर्णरुपमा ध्वस्त बनाइएको छ । बस्नेतले बालकोटमा भवन जलेको ठाउँमा नयाँ भवन नबाउने बरु ओलीको लागि गुण्डुमा नै ‘ओलीकुटी’ निर्माण गर्ने घोषण हिजै गर्नुभएको थियो ।
ओली दम्पतीले बस्नेत र एमाले नेताका साथमा हिजो बालकोटमा जलेको केपी ओलीको घर अवलोकन गर्नुभएको थियो । भग्नावशेष बनेको सो भवनको अवलोकन पछि बस्नेले ओलीको लागि गुण्डुमा नै आवासको व्यवस्था गर्ने घोषणा गर्नुभएको थियो ।
‘ओलीकुटी’ निर्माणको लागि आफूले संयोजकको भूमिका निर्वाह गर्नु बस्नेतले जानकारी दिनुभयो । ‘अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको सङ्कल्प, स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन् म आफू संयोजकको भूमिकामा रहनेछु’, बस्नेतले भन्नुभयो ।
भवन कस्तो बनाउने भन्ने विषयमा सुझाव सङ्कलन गर्न लागिएको बस्नेतले बताउनुभयो । ‘ओलीकुटी कस्तो देखिन सक्छ ? भनेर अहिले नै फोटो सङ्कलन सुरु भइसकेको छ, देशभरबाट सुझाव र समर्थन आउदैछन्’, भन्दै बस्नेतले घरका केही नमुनाहरू समेत सार्वजनिक गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्