-नवराज पथिक-
काठमाडौं, कात्तिक ७ । अस्तित्वको संकटमा परेका दुई कम्युनिष्ट दल- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच एकीकरणको चर्चा फेरि एकपटक चुलिएको छ ।
पार्टीभित्रको असन्तुष्टि, बाहिरी सत्तासंघर्ष र आगामी निर्वाचनमा अस्तित्वको प्रश्नले दुवै दललाई पुनः एकताको दिशातिर धकेलेको देखिन्छ। संगठन, विचार, र प्रभाव दुवै ओरालो लागेको बेला यी दुई दलका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको भेटघाट र वार्ताले राजनीतिक वृत्तमा नयाँ उत्सुकता र संशय दुवै जन्माएको छ।
प्रचण्ड र माधव नेपालबीच मिलनको सम्भावना बढेको चर्चा भएको यो पहिलोपटक भने होइन। तर हरेकपटक नेतृत्वको प्रश्नमा यी दुईबीच अविश्वास र ‘कसले शीर्षमा बस्ने’ भन्ने अहङ्कारले एकता बिथोलिँदै आएको छ। अहिले पनि सैद्धान्तिक वा नीतिगत मतभेद भन्दा बढी नेतृत्वकै विषयले एकताको अन्तिम रूप पाउने कि नपाउने भन्ने प्रश्न खडा गरेको छ।
पार्टी एकीकरणका लागि बनाइएको कार्यदलले सिद्धान्त, नीति र कार्यक्रमको विषयमा सहमति गरिसकेको बताइन्छ। दुवै दलका नेताहरूले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्दै ‘नेपाली विशेषतासहितको समाजवाद’ भन्ने सामान्य सूत्रमा सहमति जनाएका छन्। तर यो सहमति कागजी भन्दा बढी के हो भन्ने प्रश्न गम्भीर छ। किनकि माओवादी केन्द्र विगत दुई दशकदेखि विचार र अभ्यासबीचको गहिरो खाडलमा फसिरहेको छ भने एकीकृत समाजवादी सुरुदेखि नै विचारविहीन, दिशाविहीन अनुयायीहरूको राजनीतिक आश्रयस्थल जस्तो बन्न पुगेको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट अलग हुने बेला ‘सिद्धान्त र चरित्रका लागि’ पार्टी फुटाएको दाबी गरेका थिए। तर त्यसपछि उनले जनताको बहुदलीय जनवादलाई परित्याग गरेर कुनै नयाँ वैचारिक बाटो नखोलेका कारण उनको पार्टी वैचारिक रूपमा अस्थिर र संगठनात्मक रूपमा कमजोर बन्दै गयो।
अर्कातर्फ माओवादीले ‘बन्दुकको नालबाट सत्ता’को विचार बिसाएर सत्ताको गल्लीमा स्थायी ठेगाना खोज्ने प्रयत्न गर्यो। त्यसैले यी दुईबीच सिद्धान्तको विवाद रहनु असम्भवजस्तै छ। दुवै पार्टी विचारको होइन, अस्तित्वको लडाइँमा छन्।
दुवै दलमा युवा पुस्ता संगठनबाट टाढिँदै गएको छ, कार्यकर्ता स्तरमा निराशा छ र शीर्ष नेतृत्वमा मात्र शक्ति–समीकरणका खेल चलिरहेका छन्। अहिलेको एकता पनि त्यही सत्ताको समीकरणबाट प्रेरित छ।
प्रचण्ड र माधव नेपाल दुवै बुढो पुस्ताका नेताहरू हुन्, जो पछिल्लो समय आफ्ना कार्यकर्तामाझ लोकप्रियता गुमाउँदै गएका छन्। निर्वाचन नजिकिँदै गर्दा यी दुवै पार्टीलाई अस्तित्वको सङ्कटले घेरिरहेको छ। माओवादीका तल्लो तहका कार्यकर्तामा विचारगत प्रतिबद्धता भन्दा अवसरवाद हाबी भइसकेको छ, जबकि समाजवादी पार्टीमा संगठनिक संरचना नै प्रायः निष्क्रिय छ।
यही कारणले अहिले दुवै दलले एकताको तयारी तीव्र बनाएका छन्। उनीहरूले बुझिसकेका छन्- लग-अलग रहेर आउने निर्वाचनमा प्रवेश गर्नु भनेको राजनीतिक आत्महत्या गर्नु हो। खासगरी एकीकृत समाजवादीका अधिकांश नेता र कार्यकर्ता एमालेमा फर्किन तयार देखिएपछि माधव नेपाल हतारिएका छन्।
अर्कातर्फ माओवादी केन्द्रभित्र पनि असन्तुष्टि र विद्रोहको स्वर बलियो बन्दै गएको छ। प्रचण्डले नेतृत्वमा समकालीन नेता र कार्यकर्ताबाट समेत विश्वास घट्दै गएको अनुभूति गरेका छन्। त्यसैले दुई नेताले आफ्नो अस्तित्व जोगाउन ‘एकताको कार्ड’ फेरेका छन्।
तर, यो एकता कति दिगो होला ? यही मूल प्रश्न हो। विगतको अनुभवले भन्छ- प्रचण्ड र माधव नेपाल दुवै आफ्ना सहकर्मी नेताहरूप्रति सधैँ शङ्कालु र असहिष्णु छन्। उनीहरूबीच विश्वासभन्दा बढी राजनीतिक उपयोगिताको सम्बन्ध छ। नेकपा एकताको बेला पनि त्यही थियो।
एमाले र माओवादी मिलेर बनेको नेकपा भित्र नेतृत्वका लागि चलेको द्वन्द्वकै कारण त्यो पार्टी दुई वर्षभित्र फुट्यो। त्यो बेला पनि ‘दुई अध्यक्ष’को व्यवस्था बनाइएको थियो, तर व्यवहारमा त्यो शक्ति बाँड्ने होइन, फुटाउने सूत्र साबित भयो। अहिले पनि त्यस्तै स्थिति दोहोरिन सक्छ।
हाल एकीकरणको प्रारम्भिक खाका अनुसार प्रचण्डलाई संयोजक र माधव नेपाललाई सह–संयोजक बनाउने वा पुनः दुई अध्यक्षको मोडेल अपनाउने विषयमा छलफल भइरहेको छ। तर यी दुवै नेताहरूको स्वभाव हेर्दा साझा नेतृत्व दीर्घकाल टिक्ने सम्भावना न्यून देखिन्छ। दुवैले आफ्नो राजनीतिक यात्रा अरूलाई विस्थापित गरेर बनाएका हुन्।
प्रचण्डले आफ्नै सह–योद्धा डा. बाबुराम भट्टराई, मोहन वैद्य, जस्ता नेतालाई पार्टीबाट हटाएर पार्टी अध्यक्षको पद सुरक्षित बनाउँदै आएका नेता हुन् । माधव नेपालले पनि एमालेभित्र १५ वर्ष नेतृत्व सम्हाल्दा कसैलाई उभिन दिएका थिएनन्। उनीहरूका लागि ‘साझा नेतृत्व’ भन्ने कुरा व्यवहारिक होइन, केवल परिस्थितिजन्य हो।
अहिलेको परिस्थिति पनि तिनै पुराना कारणले प्रेरित छ । सत्ताबाट सदाको लागि बाहिरिने डर, जनसमर्थनको ह्रास र अर्को निर्वाचनमा अस्तित्वको सङ्कट। भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ पछि एमालेमाथि आएको आलोचनाले माओवादी र समाजवादी दुवैलाई अस्थायी आत्मविश्वास दिएको छ। उनीहरू एमाले माथि आक्रमण भइरहेको बेला एकतालाई अवसरका रूपमा प्रयोग गर्न खोज्दै छन्। तर प्रश्न के छ भने-एमाले क्षणिक कमजोर भएको बेला जनताको नजरमा उनीहरू सशक्त विकल्प बन्न सक्छन् ?
प्रचण्ड र माधव नेपाल दुवै नेताहरू अहिले पनि जनताभन्दा बढी गठबन्धन र सत्ताको अङ्कगणितमा केन्द्रित छन्। ३२ सिट हुने प्रचण्ड र राष्ट्रिय पार्टी समेत बनाउन नसकेका माधव नेपाल सधैँ सत्ताकै दाउपेचमा लागिरहे । उनीहरूका पार्टीहरूमा विचार, नीति र निष्ठाभन्दा ‘साझेदारी’को राजनीति हाबी छ। यही कारण आज माओवादी र समाजवादीबीच कुनै वैचारिक विमति छैन, तर ‘कसले शीर्षमा बस्ने’ भन्ने मुद्दा सबैभन्दा ठूलो छ। एकतापछि कुन पार्टीको नाम रहने, कुन चिन्ह प्रयोग गर्ने, र सरकार पुग्ने मौका मिल्यो भने कसको भाग बढी हुने भन्ने विषयमा पनि अन्तिम सहमति भइसकेको छैन।
झलनाथ खनालजस्ता वरिष्ठ नेताहरूलाई यस प्रक्रियाबाट ‘बाइपास’ गरिएको छ भन्ने आलोचना पनि बढ्दै छ। झलनाथ खनाल लामो समयदेखि माधव नेपालको विकल्प बन्न सक्ने नेताको रूपमा चिनिन्थे, तर अहिले एकता प्रक्रियामा उनलाई लगभग निष्क्रिय पारिएको छ। पार्टीभित्र पनि यो कुरा मन नपर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। त्यसैले एकीकृत समाजवादीभित्रै एकताको विरोधी धार बलियो बन्न सक्ने सम्भावना छ।
दुवै दलका कार्यकर्ता तहमा पनि कुनै उत्साह छैन। किनकि विगतको नेकपा एकताको अनुभवले कार्यकर्तामा गहिरो अविश्वास छाडेको छ। त्यो बेला पनि शीर्ष नेताहरूले मात्र मिलेर पार्टी एकता गरे, तर तल्लो तहमा कुनै छलफल र परामर्श भएन। अहिले पनि त्यही शैली दोहोरिँदै छ—नेताहरू मात्र मिल्ने, कार्यकर्तालाई सूचना दिने। यस्तो एकता स्थायित्वभन्दा बढी क्षणिक राजनीतिक लाभका लागि हुने निश्चित छ।
प्रचण्ड र माधव नेपाल दुवै नेता अहिले समयसँग दौडिरहेका छन्। उनीहरूका लागि आगामी निर्वाचन अन्तिम परीक्षा हुनसक्छ। माओवादी केन्द्रमा प्रचण्ड बाहेक कुनै बलियो वैकल्पिक नेतृत्व उभिएको छैन। अर्कातर्फ समाजवादीमा माधव नेपाल पछि संगठन चलाउने क्षमता भएका नेता कमै छन्। यी दुवै दल बुढो पुस्ताको आश्रित बनेका छन्। त्यसैले एकता सम्भव भए पनि यो केवल नेतृत्व र सत्ताको अस्तित्वका लागि हो, जनताको हितका लागि होइन।
विगतमा प्रचण्ड र माधव नेपालले मिलेर दुई–तिहाइ बहुमतको कम्युनिष्ट सरकारलाई नै ढालेका थिए। त्यो बेला उनीहरू सत्ताभन्दा ठूलो ‘आफ्नै नेतृत्वको दम्भ’मा थिए। अहिले पनि त्यही प्रवृत्ति बाँकी छ। त्यसैले उनीहरू एकै ठाउँमा लामो समय बस्ने सम्भावना निकै कम छ। परिस्थितिले बाध्य बनाएर एकता भयो भने पनि समयले फेरि तिनै कमजोरी उजागर गर्नेछ।
कतै यो एकता दुवै दलका लागि अस्थायी ‘सास फेर्ने ठाउँ’ त हुँदैन ? माओवादी र समाजवादी दुवै संगठनका हिसाबले कमजोर छन्, विचारको शक्ति हराइसकेका छन् र जनतामाझ विश्वास पुनःस्थापना गर्न असमर्थ छन्। यस्तो अवस्थामा एकता पनि केवल ‘संवेदनशील राजनीतिमा अस्तित्व जोगाउने अन्तिम प्रयास’ मात्र बन्न सक्छ।
सिद्धान्त र नीतिमा नभए पनि आत्मसम्मान र अहङ्कारमा ठोक्किएका दुई नेताहरू एकै पार्टीमा कसरी बस्लान् ? प्रचण्ड र माधव नेपाल दुवैको राजनीतिक यात्रा ‘आफ्नो नियन्त्रण नछाड्ने’ प्रवृत्तिबाट चिनिन्छ। यस्तो मानसिकता भएका नेताहरूले साझा नेतृत्वमा लामो यात्रा गर्न सक्लान् ?
हुन त राजनीति सम्भावनाको खेल हो। परिस्थिति जसरी बदलिन्छ, त्यहीअनुसार नेताहरूको निर्णय पनि बदलिन्छ। अहिले उनीहरूलाई समयले एकै ठाउँमा ल्याएको छ। भोलि जब समय अनुकूल भएन भने उनीहरू फेरि अलग–अलग बाटोमा लाग्नेछन्।
एकतापछि के नयाँ पार्टीले नेपाली जनतालाई नयाँ विकल्प दिन सक्छ ? के यसले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न सक्छ ? यी प्रश्न छँदै छ । जति संकटमा परेको भए पनि, संकटमा पारिएको भए पनि कम्युनिष्ट आन्दोलनको मूल धार नेकपा एमालेलाई शत्रु ठानेर हुने लागेको दुई नेताको मित्रता कहिलेसम्म टिक्ला ? एउटा कुरा स्पष्ट छ-यो एकता विचारको होइन, अस्तित्वको राजनीति हो र अस्तित्वका लागि गरिएको राजनीति सधैँ अस्थायी हुन्छ।
आज प्रचण्ड र माधव नेपाल एकै ठाउँमा बस्ने तयारीमा देखिए पनि, भोलि परिस्थितिले तिनैलाई फेरि टाढा पार्नेछ। जसरी पहिले एकताको सपना देखाएर फुटका बीउ रोपिएका थिए, यस पटक पनि त्यही कथाको नयाँ अध्याय लेखिँदै छ भनेर किन शङ्का नगर्ने ? बाँकी त भोलिको इतिहासले नै देखाउनेछ-यी दुई नेता साँच्चै कम्युनिष्ट एकताको वाहक हुन् कि आफ्नै अस्तित्व जोगाउन खोज्ने अन्तिम प्रयासकर्तामात्र हुन् ।













प्रतिक्रिया दिनुहोस्