जनता टाइम्स

८ मंसिर २०७६, आईतवार २०:०२

हेलिकप्टरमा आए, प्रहरीले सुरक्षा दियो, बालबिवाह गरेर गए


जनकपुरधाम, मंसिर ८

धनुषामा जनप्रतिनिधि र प्रहरीकै उपस्थितिमा बालबिवाह भएको छ । प्रदेश–२ को धनुषाको कमला नगरपालिका–४ बल्हा सघारामा भर्खरै काटिएको धानबारीमा शनिवार दिउसो एक बजेतिर हेलिकप्टर रोकियो ।

प्रभु एअरको आर ६६ टरवाइन हेलिकप्टरबाट १८ वर्षका दुलाहा किशोर सम्साद सबैभन्दा अगाडि निस्किए । हेलिकप्टरमा दुलहाका बाबु र अरू दुई जना जन्ती पनि थिए । निजी विद्यालय सञ्चालक बल्हासघाराका सतार कवारी आफ्ना १६ वर्षीया छोरी सबनमको विवाह अरूले थाहा नपाऊन् भनेरै ज्वाइँसहित जन्तीलाई हेलिकप्टरमा चार्टर गरेर घरमा ल्याएका थिए । हेलिकप्टर आएपछि त्यहा हेर्न आउनेको भिड निक्कै ठुलो थियो ।

हेलिकोप्टर अवतरण हुनु अगावै करिब दुईदर्जन जीप (साना सवारीसाधन) मा जन्तीहरु आइपुगेका थिए । त्यहाँ भएको भीडमा दुईवटा चासो देखिएका थियो, ‘जिल्लामै पहिलो पटक सुनिएको हेलिकोप्टर चढेर आउने दुलाहा कस्ता रहेछन् ? र, हेलिकोप्टर कसरी अवतरण हुँदो हो ?’ तर, उनिहरुले दुलाहा देखेपछि दंग परेका थिए । स्थानीय बल्हा प्रहरी चौकीका इन्चार्ज असइ गणेश दनुवारको कमान्डमा दुईजना र दुब्बरकोट सशस्त्र प्रहरी वेश क्याम्पका वरिष्ठ हवल्दार रंजीत दनुवार कमान्डमा दुईजना रहेको अर्को टोलीले हेलीको सुरक्षा दिएको थियो । विवाहमा वडाध्यक्ष पल्टु कबारी पनि सहभागी भएका थिए ।

१८ वर्षका बेहुला र १६ वर्षीया बेहुली दुवै नेपालको कानुनअनुसार विवाहका लागि अयोग्य छन् । बालबिबाह गर्नेलाई कानुनीले कारवाहीको व्यवस्था गरेको छ । तर, प्रहरीकै सुरक्षामा बालविवाह हुँदा पनि हेरी बसेको भन्दै प्रहरीको आलोचना हुन थालेको छ । उमेर नपुगेका केटा वा केटीको धेरै विवाह धनुषा प्रहरीले पनि रोकेको दाबी गर्छ । तर, बल्हासघाराको त्यो विवाहमा हेलीकै पछाडि लागेर दुई सुरक्षा निकायका प्रहरी पनि मुकदर्शक बन्न पुगेपछि यो विषयले राष्ट्रिय बहस लिएको छ । बेहुला सम्साद भर्खरै जनकपुरस्थित मोडेल मल्टिपल कलेजबाट १२ कक्षाको परीक्षा दिएर बसेका हुन् भने बेहुली गाउँकै विद्यालयमा १० कक्षामा अध्ययनरत छात्रा हुन् । बालविवाहको घटना सार्वजनिक भएपछि कानुनी झमेला पर्ने डरले केटीको जन्मदर्ता सच्याइएको आशंका गरिएको छ ।