काठमाडौं, कात्तिक ८। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले संसद् पुनःस्थापनाको एजेण्डा प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभएको छ । नवयुवा पुस्ता र असन्तुष्ट पक्षका माग सम्बोधन गर्न संसद् पुनःस्थापना नै मुलुकका लागि उत्तम विकल्प भएको ज्ञवालीले बताउनुभयो।
पश्चिम नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले फागुन २१ मा तोकिएको निर्वाचन गराउने सरकारकै मनसाय नदेखिएको बताउनुभयो । ‘चुनाव हुने सम्भावना नेकपा एमालेले आजको मितिसम्म देखेको छैन, पहिलो कुरा, चुनाव गराउने सरकारको मनसाय नै देखिँदैन । चुनाव गराउँदा उनीहरूको उद्देश्य पूरा हुँदैन’, ज्ञवालीले भन्नुभयो ।
सुरक्षाकर्मीबाट लुटिएका एक हजारभन्दा बढी हतियार अझै बाहिर रहेका, भगाइएका १४ हजार कैदीमध्ये साढे ५ हजार अझै फरार रहेका, गम्भीर अपराधमा संलग्न ती व्यक्तिहरूलाई कसले र कहिले प्रयोग गर्छ भन्ने टुङ्गो नभएको तथा प्रहरीको मनोबल कमजोर भएको यस्तो अवस्थामा चुनाव हुन्छ भनेर कल्पना गर्न नसकिने उहाँले बताउनुभयो ।
उहाँले भदौ २३ र २४ को घटनालाई जोड्दै सरकारको नियत नै प्रश्नवाचक भएको टिप्पणी गर्नुभयो । ‘भदौ २३ गतेको घटनालाई आधार बनाएर राजनीतिक दलहरूलाई जसरी पनि फसाउने र २४ गतेको घटनालाई विद्रोहको संज्ञा दिई उन्मुक्ति दिने सरकारको नियत स्पष्ट देखिन्छ,’ उहाँले भन्नुभयो ।
ज्ञवालीले यस्तो परिवेशमा निष्पक्ष निर्वाचन सम्भव नभएको बताउनुभयो । त्यसैले एमालेले संसद् पुनःस्थापनाका लागि दबाबमूलक कार्यक्रम अघि बढाउने उहाँले जानकारी दिनुभयो। उहाँले नेता–कार्यकर्तालाई विचलित नभई उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्नुभयो । ‘पुनःस्थापित संसद्ले सर्वदलीय सहमतिको सरकार बनाउनेछ, त्यसले जेनजीलगायत असन्तुष्ट पक्षसँग वार्ता गरी संविधान संशोधन गर्नेछ, आवधिक निर्वाचनको बाटो खोल्नेछ र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नेछ,’ ज्ञवालीले भन्नुभयो ।
भदौ २३ र २४ गते जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी योजनाबद्ध रूपमा मुलुकलाई अस्थिर बनाउने विध्वंसात्मक गतिविधि गरिएको उहाँले बताउनुभयो । ज्ञवालीले केही पात्रहरू अझै पनि संविधान र लोकतन्त्र समाप्त पार्ने खेलमा सक्रिय रहेका बताउनुभयो ।
एमालेले महाधिवेशनको मिति तोकेकाले अब नेतृत्वको विषय महाधिवेशनकै माध्यमबाट टुङ्गो लाग्ने पनि उहाँले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्