सौताको रिसले पोइकै काखमा के गरेजस्तो भन्थे, अहिले त्यस्तै भयो होइन त माओवादी कमरेडहरु ? अब विगतका दिनमा आफ्ना वरिपरि आफूलाई राप–ताप दिने, मान–सम्मान गर्ने, शान झल्केका दिन सम्झने, अनि एक्लै थेच्चिने दिन पर्खने । कि कसो प्रचण्डज्यू ?
मधु लम्साल
माओवादी नेताले भन्ने गर्थे– ’हामी गणतन्त्रका बाहक हौं । दश वर्षे जनयुद्धको जगमा टेकेर आएको लोकतन्त्र हो यो । हाम्रो क्रान्तिले ल्याएको परिवर्तनले देशले मुहार फेर्छ, छिट्टै सिंगापुर बन्छ ।’
बन्यो सिंगापुर ?
सुन्दर शान्त देश । माओवादीले नै सिकाएको हिंसा, आतंक, आक्रमण, तोडफोड जस्ता कार्यले देश अस्तव्यस्त मार्गमा लम्किरहेको छ । ’न रह्यो बाँस, न बज्यो बाँसुरी“ भनेझैं अहिले माओवादी पार्टी, त्यसका नेता कार्यकर्तामा आएको बिचलनले गर्दा दिनदिनै पतनोन्मुख हुँदैछ । यो अवस्था देख्दादेख्दै पनि दम्भ देखाउने माओवादी नेतालाई ’कठ्ठै बिचरा !’ भन्नुको विकल्प छैन । वास्तवमा माओवादीका उपल्ला स्तरका ती नेतालाई अहिले आफ्नै क्रियाकलापले गर्दा देशको अवस्था, अनि पार्टीको हविगत, बचेखुचेका कार्यकर्तामा देखिएको असन्तुष्टिले लज्याउनु पर्ने हो ।
सोझा–सिधा जनतालाई नचाहिँदा आश्वासन देखाएर विद्रोहमा उतार्नाले दश वर्षे जनयुद्धका क्रममा कयौंका सिंदुर पुछिए, कयौंका साथ खोसिए, कयौंको कोख रित्तियो । कति अपांगता भएका बने ? कतिको सम्पत्ति हरण अनि स्वाहा ? जनविद्रोहका नाममा त्यसबेला गरिएको राष्ट्रको क्षती त भनिसाध्य थिएन ।
दश वर्ष युद्द गरेर ल्याएको परिवर्तन १९ वर्षमै स्वाहा ! हुन त व्यवस्था मात्रै १९ वर्ष टिकेको हो जसोतसो । गणतन्त्र ल्याउन भूमिका खेल्ने भनिएको माओवादी त त्यसअघि नै टुक्राटुक्रा भएर संगठानिक रुपमा निकै कमजोर भइसकेको थियो । नेताहरु कोही सदावहार सत्तामा, कोही सधैंको भित्तामा देखिएकै हुन् ।
विद्रोही माओवादी शान्तिपथमा आइसकेपछि कसैका परिवार नै ’लुट कान्छा लुट, सकेजती लुट’को अभियानमा लागे, कोही दैनिकी चलाउन नसक्दा आफ्नो काम आफैं खोज्न बाध्य हुनुपर्यो । स्वयम् माओवादीका सदाबहार अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डका राजनैतिक गुरु भनिने मोहन वैद्य ’किरण’ कुनै पनि राज्य शक्तिको पदमा नपुगेरै राजनैतिक अवकाश लिन बाध्य भए । बादल, टोपबहादुरहरुको माओवादी क्रान्तिकारी राजनीति त्यसै सकियो ।
यी सबै परिस्थितिका बाबजुद गत भाद्र २३-२४ को ’जेनजी’ आन्दोलनले त माओवादीलाई झनै चेत पसाइदिनु पर्ने थियो । तर, अझै चेतेको देखिन्न । माओवादीलाई दश वर्ष लागेको सत्ता परिवर्तनको माहोल, ’जेनजी’ प्रदर्शनले १०-१२ घन्टामै फत्ते गर्दा पनि दम्भ देखाइरहनु ? हरे शिव ! अझै पनि यो प्रचण्डको नफुरेको बुद्धी ?
अहिले देशमा राष्ट्रपति छन्, संविधान छ । तर ती दुबै देख्नका लागि मात्र छन । यहाँ न संविधान प्रयोग भइरहेको छ, न त राष्ट्रपतिकै आदेश–निर्देशन पालना हुने अवस्था छ । देश कताबाट कसरी चलिरहेको छ, त्यो हेर्न बुझ्न महादेवले तेस्रो नेत्र खोल्नु पर्ने हुन्छ ।
मान्छेबाट गल्ती–कमजोरी अनि भुल–त्रुटी पनि हुन्छ । तर, जानाजानी त्यसो गरिन्छ भने पश्चातापले आफूलाई आफैँ भित्रभित्र जलाउछ भनिन्छ । तर ख्वै यी माओवादी नेतालाई पछुतो लागेको ? आफ्नै सत्ता स्वार्थका कारणले देश रणभूमिमा परिवर्तन भयो भन्ने महशुस गरेको ? सत्ता बाहिर त बस्नै नसक्ने ? कहिले काँग्रेसलाई खेलाएको छ, कहिले एमालेलाई ठेलेको छ, कहिले रास्वपालाई पेलेको छ, यही हो माओवादीको सत्ताबादी राजनीति ? यसैका लागि थियो विगतको जनयुद्द ?
के सोचेर क्रान्ति गरियो अनि के ठानेर सत्ताको वरिपरि रमाइयो र अहिले यो हविगतमा पुगियो भन्ने पछुतो मान्दै रानीपोखरीमा लामबद्ध भएर हामफाल्नुको माओवादी शीर्षनेतासँग विकल्प देखिन्न । किनकि, क्रान्ति गरेर विद्रोहको जगमा टेकेर सत्तामा पुग्नेहरु आफ्नो शक्ति कमजोर हुँदै जाँदा राजनैतिक निती, सिद्धान्त र शैली नै नमिल्ने दलसँग कसैले एकिकरण गर्छ ? त्यो एकिकरणको अर्थ अर्थात् स्वार्थ केवल सत्ताको सपनाबाहेक केही हुन सक्छ ?
सौताको रिसले पोइकै काखमा के गरेजस्तो भन्थे, अहिले त्यस्तै भयो होइन त माओवादी कमरेडहरु ? अब विगतका दिनमा आफ्ना वरिपरि आफूलाई राप–ताप दिने, मान–सम्मान गर्ने, शान झल्केका दिन सम्झने, अनि एक्लै थेच्चिने दिन पर्खने । कि कसो प्रचण्डज्यू ?













प्रतिक्रिया दिनुहोस्