जनता टाइम्स

९ कार्तिक २०८२, आईतवार ११:०९

कलाकार दीपकराज गिरी पानी माथि ओभानो : जेनजी आन्दोलनको समर्थन गरेको हो, हिंसात्मक घटनामा सहभागी छैन 


काठमाडौं, कात्तिक ९। जेनजी आन्दोलनका क्रममा भएको हिंसामा आफ्नो संलग्नता नभएको भन्दै कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिनुभएको छ ।

सामाजिक सञ्जालमा प्रसारित केही तस्बिर र भिडियोले उहाँको संलग्नता देखाएको समाचार आइरहेको बेला आफू हिंसात्मक घटनामा संलग्न नरहेको गिरीले दाबी गर्नु भएको छ । धेरैले फोटो पठाएर यो के हो भनि सोधेको कारण स्पष्ट पार्नु परेको गिरीले बताउनुभएको छ । विभिन्न परिवर्तनसम्बन्धी आन्दोलनप्रति आफूले समर्थन जनाउँदै आएको बताउँदै गिरीले यो आन्दोलनको पनि आफूले समर्थन गरेको स्पष्ट पार्नु भएको छ ।

गिरीले सो दिन गणेश कार्की नामका व्यक्तिको फोन आएपछि सर्वपक्षीय सानो भेला बानेश्वरमा रहेको जानकारी पाएर कलाकारको रूपमा सहभागी भएको स्पष्टीकरण दिनुभएको छ। घरबाट निस्कँदा बाटोमा केही युवा समूहले तोडफोड भएको घर हेरेको र उनीहरूसँगै तस्बिर खिचिएको भए पनि आफू आगजनी र तोडफोडको घटनमा संलग्न नभएको उहाँको स्पष्टीकरण छ ।

व्यापक तोडफोड र आगजनी सुरु हुँदा आफूले तोडफोड नगर्न भनिएको भिडियो समेत बनाएको र घटनापछि घर आएर निरन्तर ‘तोडफोड नगरौँ, राष्ट्रको सम्पत्ति जोगाऔँ’ भनी स्ट्याटस राख्दै आएको उहाँको भनाइ छ। गिरीले भदौ २३ गते राजनीतिक आन्दोलन र अर्को दिन आगजनी तथा विघटनकारी गतिविधि भएको उल्लेख गर्नुभएको छ । जसमा विभिन्न स्वार्थ समूह र पार्टीसँग सम्बन्धित केही मानिसहरू प्रवेश गरेको प्रमाणित भइसकेको र त्यसमा आफ्नो संलग्नता नभएको उहाँको दाबी छ । तर  भिडियो र फोटाहरूले गिरिको आगजनीको घटनामा प्रत्यक्ष सहभागिता देखाउँछ ।

‘म कुनै समूहमा आबद्ध नभएको कलाकार हुँ र देशमा भएको तोडफोड र आगजनीमा मेरो सहभागिता छैन’, भन्दै उहाँले पानी माथिको ओभानो हुने प्रयास गर्नु भएको छ । यदि संलग्नता प्रमाणित भए त्यसबारे कठोर कारबाही भोग्न  तयार भएको उहाँले उल्लेख गर्नुभएको छ ।