काठमाडौं, कात्तिक ९ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा मन्त्रीको सूचीमा परेका खगेन्द्र सुनारमाथि बहुविवाह र ठगीसम्बन्धी आरोपहरू रहेको खुलेका छन्।
सुनारमाथि २०७९ साल असोज ५ गते जेठी श्रीमती हुँदाहुँदै २७ वर्षीया गीता खत्रीसँग दोस्रो विवाह गरेको उजुरी परेको छ। सो उजुरीका आधारमा प्रहरीले बहुविवाह सम्बन्धी मुद्दा दर्ता गरेको छ।
सुनारकी पहिलो पत्नी राष्ट्रिय अनुसन्धान विभागकी अधिकृत हुन्। दुबैबिच सम्बन्ध बिग्रिएको बताइए पनि उनीहरू कानुनी रूपमा अझै वैवाहिक सम्बन्धमै रहेका छन्। सुनार विरुद्ध पत्नी हुँदाहुँदै अन्य महिलाहरूसँग सम्बन्ध राख्ने र उनीहरूलाई आर्थिक रूपमा शोषण गरेको भन्दै विभिन्न उजुरीहरू समेत परेका छन्।
त्यस्तै, वैदेशिक रोजगारीमा पठाइदिने बहानामा युवाहरूलाई ठगेको आरोप पनि सुनारमाथि लागेको छ। उनले म्यानपावर कम्पनी सञ्चालन गरी विदेश पठाउने नाममा रकम उठाएको र नपठाई ठगेको उजुरीहरू प्रहरीमा दर्ता भएका छन्।
ती घटनामा अनुसन्धानपछि सुनारलाई प्रहरीले सो समयमा पक्राउ गरी थुनामा राखेको थियो। अर्काे एक मुद्दामा जिल्ला अदालत काभ्रेले उनलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। तर, उनले उक्त जरिवाना अहिलेसम्म तिरेका छैनन् ।
त्यस्तै काभ्रे जिल्ला अदालतले विद्युतिय कारोबार कसुरमा गत असार २ गते पक्राउ पूर्जी जारी गरेकाे छ ।
सुनारविरुद्ध सुर्खेत जिल्ला अदालतमा अर्को मुद्दा समेत विचाराधीन छ। उक्त मुद्दा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातसम्बन्धी हो। सो घटनामा अदालतले उनको नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतको अभिलेखअनुसार उनी हाल फरार अभियुक्तको सूचीमा रहेका छन्।














प्रतिक्रिया दिनुहोस्