विराटनगर, कात्तिक ९।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काेशी प्रदेशका सम्पूर्ण माध्यमिक विद्यालयहरूमा सूचना प्रविधि (आइसिटी) र पूर्वाधार निर्माण गर्ने घोषणा गर्नुभएको छ।
आज धनकुटाको सहिदभूमि गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा यो कार्यक्रम १० वर्षभित्र पूरा गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘यो योजना शैक्षिक सुधारको ठोस पहल हो, प्रदेश सरकार, स्थानीय पालिका र निजी क्षेत्रको सहकार्यमा कोशीका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन लागिएको हो।’
उहाँले सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालयमा खेतान फाउन्डेसनले निर्माण गरिदिएको विद्यालय भवन उद्घाटन गर्दै प्रदेश सरकारले शिक्षा क्षेत्र सुधारमा प्राथमिकता दिएको बताउनुभयो। करिब ९२ लाख रुपैँयाकाे लागतमा आठ कोठे भवन निर्माण गरिएको छ ।
सहिदभूमि गाउँपालिकाका सबै विद्यालय सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधारयुक्त विद्यालय बनाउने लक्ष्य रहेको सीपी फाउन्डेसनले जनाएको छ।
मुख्यमन्त्री कार्कीले सहिदभूमि गाउँपालिकालाई ‘शहीदहरूको भूमि’का रूपमा सम्मान गरिएकाे बताउँदै साे गाउँपालिकाकाे विकासलाई विशेष प्राथमिकतामा राखिकाे बताउनुभयाे । उहाँले भन्नुभयो– ‘यो काम राजनीतिक लाभका लागि होइन, शहीदहरूको सम्मान र प्रदेशको शैक्षिक रूपान्तरणका लागि गरिएको हो।’
सिपी फाउन्डेसनले विभिन्न दातृ संस्थाको सहयोगमा कोशी प्रदेशका हिमाली तीन र पहाडी आठ जिल्लाका करिब ५०० विद्यालयमा पूर्वाधार र आइसिटी विकास गर्ने सम्झदारी यसै आर्थिक वर्षभित्र गर्ने तयारी गरेको छ।

यो योजना करिब १५ अर्ब रुपैयाँको लगानीमा सञ्चालन हुनेछ। साे याेजना अन्तर्गत प्रदेश सरकार, स्थानीय पालिका र निजी क्षेत्रबीच साझेदारीमा विद्यालय भवन, कम्प्युटर प्रयोगशाला र इन्टरनेट पहुँच विस्तार गर्ने योजना छ।
खेतान फाउन्डेसनका संस्थापक सीपी खेतानले यो सहकार्य कोशी प्रदेशको शैक्षिक सुधारका लागि माइलस्टोन साबित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो– ‘यो योजनाले ग्रामीण क्षेत्रमा पनि प्रविधियुक्त शिक्षा ल्याउनेछ, जसले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउनेछ।’
मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनलाई समयमै काम पूरा गर्न आग्रह गर्दै प्रदेश र स्थानीय तहको स्रोत–साधन पनि परिचालन गरिने बताउनुभयो।

यसै क्रममा सहिदभूमि गाउँपालिका र सीपी फाउन्डेसनबीच पालिकालाई ‘नमुना पालिका’ बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो समझदारीअनुसार पालिकामा करिब २ देखि ३ अर्ब रुपैयाँ लगानी हुनेछ, जसबाट विद्यालय, स्वास्थ्य चौकी, लघु उद्यम र सडक पूर्वाधार विकास गरिनेछ।
कार्यक्रममा ह्युमन प्राक्टिस फोरमले मुख्य सहायक भूमिकामा रहने प्रतिबद्धता जनाएको छ। फाउन्डेसन र फोरमबिच सहिदभूमि गाउँपालिकामा पहिलो चरणमा ३ अर्ब रुपैयाँ लगानी गर्ने सहमति पनि भएको छ।
हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्की, फाउन्डेसनका अध्यक्ष सीपी खेतान, ह्युमन प्राक्टिस फोरमका प्रतिनिधि तथा विदेशी दातृ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले धनकुटाको पछाडि पारेको क्षेत्रलाई नमुना पालिकाको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो।
स्थानीयवासीले २०३६ सालको खोकु–छिन्ताङ हत्याकाण्डपछि विकासमा पछि परेको यो पालिका अब समृद्धिको यात्रामा अघि बढ्ने आशा व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्