जनता टाइम्स

१० कार्तिक २०८२, सोमबार १६:११

जेन–जी आन्दोलनका नाममा भएको तोडफोडमा संलग्नलाई अविलम्ब कारबाही गर्नुपर्छ : चेतनारायण आचार्य


काठमाडौं, कात्तिक १०। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनका नाममा भएका घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने धारणा राख्नुभएको छ ।

नेकपा (एमाले) अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव र्‍यालीपछि सन्धिखर्क सम्पन्न कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रशासनले कारबाही प्रक्रियामा ढिलाइ गरिरहेको भन्दै ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘धैर्यताको बाँध अझै टुटेको छैन, हामी कानुनी शासनमा विश्वास राख्ने पक्षमा छौँ तर तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ, अनि जनताले नै कारबाही थाल्नेछन् ।’

मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार, ‘संविधानको रक्षा, राष्ट्रिय एकता र स्वाधीनताको सुदृढताका लागि सबै लोकतान्त्रिक शक्तिहरूबिच एकता अनिवार्य छ ।’

सम्बोधनका क्रममा एमाले केन्द्रीय सदस्य समेत रहनुभएका आचार्यले अर्घाखाँची अझै पनि एमालेको बलियो किल्ला रहेको र पार्टी संगठन अझ सुदृढ बन्दै गएको बताउनुभयो । उहाँले पार्टीका कार्यकर्ता र जनसमर्थकहरूलाई संगठन सुदृढीकरणका माध्यमबाट लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितको संरक्षणमा अग्रसर रहन आह्वान गर्नुभयो ।