जनता टाइम्स

१० कार्तिक २०८२, सोमबार १६:४२

विप्लव नेतृत्वको नेकपाद्वारा १० दिने जनसंघर्षका कार्यक्रम घोषणा, कात्तिक २० गते काठमाडौंमा बृहत् सभा


काठमाडौं, कात्तिक १० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दश दिने जनसंघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

हालै सम्पन्न केन्द्रीय समितिको विशेष बैठकको निर्णयअनुसार पार्टीले कात्तिक २० गतेसम्मका लागि विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको हो । नेकपाको विशेष बैठक असोज २४ देखि ३० गतेसम्म कपिलवस्तुमा बसेको थियो ।

पार्टीद्वारा जारी कार्यक्रमअनुसार कात्तिक १३ गतेसम्म देशभर भित्ते लेखन अभियान सञ्चालन हुनेछ । त्यसमा ‘सर्वपक्षीय अन्तरिम सरकार गठन गर’, ‘अग्राधिकारसहितको समाजवाद निर्माण गर’, ‘जेनजीमाथि भएको दमनको निष्पक्ष छानबिन गर’, ‘युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर’, ‘भ्रष्टाचारको निष्पक्ष छानबिन गर’ र ‘दलाल प्रवृत्तिका गैरसरकारी संस्था खारेज गर’ जस्ता नारा लेखिने नेकपाले जनाएको छ ।

भित्ते लेखनपछि कात्तिक १५ गते देशव्यापी मसाल जुलुस, १७ गते विरोध प्रदर्शनसहित कोणसभा र अन्ततः कात्तिक २० गते काठमाडौंमा बृहत् जनसभा आयोजना गरिने कार्यक्रम तय गरिएको छ । सो सभामा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने जनाइएको छ ।

पार्टीले देशभरका ‘स्वाधीनता र समाजवादका पक्षधर शक्तिहरू’ लाई सो सभामा सहभागी हुन आह्वान गरेको छ ।

यसैबीच, विप्लवले सोमबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कात्तिक २० गते काठमाडौंमा भेट्ने आह्वान गर्नुभएको छ । उहाँले लेख्नुभएको छ- ‘नेपाललाई अरूले होइन, हामी आफैँले फेर्ने हो, अरूले होइन, नेपालीले नै चलाउने हो, जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन्, देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौँ साथीहरू ।’