जनता टाइम्स

११ कार्तिक २०८२, मंगलवार ११:११

लुटपाट,आगजनी र विध्वंसमा संलग्न अपराधीको विरोध गर्न नसक्नेहरूले एमालेको नाम जोड्न थालेछन् : शंकर पोखरेल 


काठमाडौं, कात्तिक ११। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापाले गर्नुभएको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै अपराध र हिंसामा संलग्न सबैलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

गगन थापाले केही दिनअघि एक अन्तर्वार्तामा आफूले आफ्नो घर एमालेका कार्यकर्ता र अध्यक्ष केपी ओलीसँग समेत पहुँच भएकाले लुटपाट र आगजनी भएको दाबी गर्नुभएको थियो। उक्त अभिव्यक्तिपछि महासचिव पोखरेलले समाजमा फैलिएका आरोप–प्रत्यारोपबाट टाढा भई सत्य र न्यायको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभएको छ।

पोखरेलले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेका बताउनुभयो। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्- सबैलाई कडा कारबाही गरौँ, देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ’, उहाँले भन्नुभयो ।

उहाँले राजनीतिक असहमति र आलोचना स्वीकार्य भए पनि काननविरुद्धका कुकर्मी गतिविधिलाई सह्य नहुने स्पष्ट पार्नुभयो ।  संवैधानिक तथा कानुनी मर्मअनुसार घटनाको अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न उहाँले माग गर्नु भएको छ ।

यस्तो छ उहाँको टिप्पणी : 

लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् !
राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्- सबैलाई कडा कारबाही गरौँ।
देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ।