काठमाडौं, कात्तिक ११। बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा समेत पर्ने भएकाले आगामी केही दिन विशेष सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ‘मोन्था’ चक्रवातका कारण बिहीबार (कात्तिक १३) दिउँसोदेखि शनिबार (कात्तिक १५) बिहानसम्म कोशी, मधेस र वाग्मती प्रदेशको मौसम प्रभावित हुने देखिएको छ।
यस अवधिमा मधेस र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ भने कोशी र वाग्मती प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
प्राधिकरणले जारी गरेको सार्वजनिक सूचना अनुसार चक्रवातको प्रभाव बढी पर्ने सम्भावना रहेका प्रदेश र जिल्लाहरूमा पूर्वतयारी र सतर्कता अपनाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ।
प्रभावित हुने प्रदेश र जिल्लाहरू:
१. कोशी प्रदेश: संखुवासभा, ताप्लेजुङ, पञ्चथर, तेह्रथुम, भोजपुर, धनकुटा, इटहरी, झापा, मोरङ र सुनसरी
२. मधेस प्रदेश: सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा
३. वाग्मती प्रदेश: सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर र धादिङ
प्राधिकरणले स्थानीय सरकार, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्य संस्था र सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई आवश्यक तयारी र जोखिम न्यूनीकरणका कार्यमा जुट्न आग्रह गरेको छ।
साथै, पहाडी र हिमाली क्षेत्रमा हिमपात र वर्षाका कारण भूस्खलन, पहिरो, बाढी र हिमनदीजन्य घटनाको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन सुझाव दिइएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले हस्ताक्षर गरेको सूचनामा ‘चक्रवात ‘मोन्था’ को प्रभावलाई ध्यानमा राखी सम्भावित जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायलाई सक्रियता देखाउन आग्रह गरिएकाे छ ।














प्रतिक्रिया दिनुहोस्