तुलसीपुर, कात्तिक ११ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आन्दोलनका नाममा हिंसात्मक गतिविधि हुनु दुःखद भएको बताउनुभएको छ ।
मंगलबार तुलसीपुरमा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न सरकारी तथा निजी संरचनाको स्थलगत अवलोकनपछि पत्रकारसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा विरोध र असन्तुष्टि जनाउने अधिकार सबै नागरिकलाई भए पनि त्यो शान्तिपूर्ण र जिम्मेवार ढङ्गले हुनुपर्ने बताउनुभयो । ‘लोकतान्त्रिक प्रणालीमा असन्तुष्टि जनाउने अधिकार सबैलाई छ, तर त्यो शान्तिपूर्ण र जिम्मेवार ढङ्गले हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सार्वजनिक सम्पत्ति तोडफोड गर्नु जनताको नै धन र अधिकारमाथि प्रहार गर्नु हो, जुन लोकतन्त्रको भावना विपरीत हुन्छ ।’
महासचिव पोखरेलले नयाँ पुस्ताका युवाहरूको आक्रोस र चिन्तालाई दुरुपयोग गरेर भदौ २३ र २४ को घटना गराइएको बताउनुभयो । उहाँका अनुसार सो घटनाले राष्ट्रको जीवनमा ठूलो क्षति गरेको छ । ‘भदौ २३ र २४ को घटना हाम्रो राष्ट्रिय जीवनकै ठूलो क्षति हो,’ उहाँले भन्नुभयो ।
जेनजी पुस्ताका युवाहरूको माग सामाजिक सञ्जाल खुला गर्ने र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित रहेको स्पष्ट पार्दै उहाँले सामाजिक सञ्जाल सरकारले बन्द गरेको नभई सेवा प्रदायक कम्पनीहरूले दर्ता प्रक्रियामा सहभागी हुन ढिलाइ गरेकाले केही समयका लागि रोकिएको बताउनुभयो । ‘सामाजिक सञ्जाल बिना बाँच्न नसक्ने अवस्थामा हाम्रा युवा पुगिसकेका रहेछन्, युवाहरूलाई आक्रोशित बनायो, र सोही आक्रोशलाई विभिन्न शक्तिहरूले दुरुपयोग गरे,’ उहाँको भनाइ छ ।

नेपालमा विगतमा ठूला ठूला सङ्घर्षहरू भए पनि ती आन्दोलनहरूमा सार्वजनिक सम्पत्तिमा यति ठूलो क्षति नभएको उल्लेख गर्दै उहाँले जेनजी आन्दोलनका नाममा भएको हिंसा राष्ट्रविरुद्धको अपराध भएको बताउनुभयो । ‘यो राष्ट्रविरुद्धको अपराध हो, यो कुनै आन्दोलन होइन,’ उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनको नाममा नेपालको राष्ट्रियता नै आक्रमणको लक्ष्य बनाइएको उहाँले बत्ताउनुभयो । नयाँ पुस्ताको भावनामा स्वार्थी तत्त्वहरू हाबी भएर देशलाई अस्थिर बनाउन खोजेको उहाँको टिप्पणी छ । ‘नयाँ पुस्ताको भावनामा स्वार्थी तत्त्व हाबी भएर देश खरानी बनाउने प्रयास भयो,’ उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनमा भएका घटनाका धेरै पक्षहरू अहिले सार्वजनिक भइसकेको उल्लेख गर्दै महासचिव पोखरेलले ती घटना गराउनेहरू अहिले पश्चात्तापमा रहेको बताउनुभयो । उहाँले लोकतन्त्र, संविधान र समाजलाई बलियो बनाउन सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अहिलेको सरकार लोकतान्त्रिक नीतिअनुरूप नचलिरहेको बताउँदै उहाँले मन्त्रिपरिषदमा नामा सिफारिस गर्ने र फिर्ता गर्ने क्रमले अहिले शासन सत्तामा रहेका व्यक्तिहरूको चरित्र स्पष्ट भएको बताउनुभयो ।

भदौ २३ र २४ गतेको घटनापछि पहिलो पटक गृह जिल्ला पुग्नुभएका महासचिव पोखरेलले मंगलबार दिउँसो तुलसीपुरका विभिन्न स्थानमा पुगेर क्षतिग्रस्त संरचनाको अवलोकन गर्नुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत तुलसीपुर इजलास, जिल्ला प्रशासन कार्यालयको आसपासका क्षेत्र, कोमल रिसोर्ट, साथै नेपाली कांग्रेसका नेताहरू गेहेन्द्र गिरी र डिल्ली चौधरीका घरलगायतका स्थानमा पुगेर क्षतिको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
भदौ २३ र २४ गते तुलसीपुरमा भएको आन्दोलनका क्रममा तोडफोड, आगजनी र हिंसात्मक गतिविधिका कारण सरकारी सम्पत्तिसहित निजी घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा ठूलो क्षति पुगेको थियो । सोही घटनापछि पहिलो पटक जिल्ला पुग्नु भएका महासचिव पोखरेलले क्षतिग्रस्त संरचनाको अवलोकन गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्