जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार १२:४१

नेकपा एसमा कार्यकर्ताको बिद्रोह : ५ सय बढीले गरे माओवादीसँग एकता होइन, पार्टी पुनर्गठनको माग 


काठमाडौं, कात्तिक १२। नेकपा (एकीकृत समाजवादी) का विभिन्न जनसंगठनमा आबद्ध ५  सय २६ जना कार्यकर्ताले पार्टी एकता होइन, पुनर्गठन नै समयको माग भएको भन्दै नेतृत्वलाई सचेत गराउने अपिल सार्वजनिक गरेका छन्।

‘प्रिय कमरेडहरू’ शीर्षकमा जारी अपिलमा उनीहरूले मुलुकको हालको राजनीतिक सङ्कट र नयाँ पुस्ताको असन्तुष्टि पार्टीभित्रै आत्मसात् गर्नुपर्ने बताउँदै, वाम शक्तिको पुनर्गठन र पुस्तान्तरणको कार्ययोजना तत्काल अघि बढाउन नेतृत्वसँग आग्रह गरेका छन् । अपिलमा भनिएको छ, ‘आज मुलुक विषम परिस्थितिमा छ, विगत महिनामा घटेका घटनाक्रमहरूले नेपालको राजनीतिक परिदृश्यलाई पूर्ण रूपमा हल्लाइदिएको छ।’

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, त्यसको प्रतिक्रिया स्वरूप जेन-जी पुस्ताद्वारा उठेको आन्दोलन र त्यसमा भएको दमनलाई स्मरण गर्दै उनीहरूले लेखेका छन्- ‘शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीमाथि अन्धाधुन्ध गोली बर्साएर सरकार नरसंहारमा उत्रियो, तर त्यस आन्दोलनले पुरानो राजनीति हल्लाइदिएको छ र नयाँ पुस्ताले परिवर्तनको एजेन्डा अघि सारेको छ।’

अपिलमा जेन-जी पुस्ता असंगठित रूपमा रहे पनि भ्रष्टाचार, अनियमितता र असमानताको विरुद्ध आवाज उठाइरहेको उल्लेख गर्दै त्यसलाई राजनीतिक दिशानिर्देश र संगठित स्वरूपमा अघि बढाउन वाम दलले जिम्मेवारी लिनुपर्ने भनिएको छ। ‘असंगठित शक्तिले समाजलाई प्रणालीसम्मत रूपान्तरण गर्न सक्दैन, त्यसैले वाम पार्टीहरूले पुस्तान्तरण गर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनु जरुरी भइसकेको छ,’ अपिलमा भनिएको छ।

५ सय २६ जनाले गरेको उक्त अपिलमा पार्टी एकताको बहसलाई गौण ठहर गर्दै, पार्टी पुनर्गठनलाई वाम आन्दोलनलाई पुनर्जीवित गर्ने उपायका रूपमा प्रस्तुत गरिएको छ। ‘अन्य दलसँगको गठजोडको अनावश्यक बहसमा समय खेर फाल्नुको साटो, हाम्रो पार्टीभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको कार्ययोजना बनाउनु पर्छ,’ अपिलमा भनिएको छ।

अपिलकर्ताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल मूल्य जनताको स्वीकृतिमा आधारित भएको भन्दै, जनता र विशेषतः युवा पुस्ताको विश्वास गुमाउने स्थिति आएमा कुनै पनि पार्टीको ‘राजनीतिक मरणपत्र’ लेखिने चेतावनी दिएका छन्। ‘जेन-जी आन्दोलनले देखाएझैँ, लाखौँ वाम विचारमा विश्वास गर्ने मतदातालाई हाम्रो पार्टीमा संगठित गर्न सकिन्छ तर त्यसका लागि पार्टीले आफैलाई सुधार्न, नेतृत्व हस्तान्तरण गर्न र युवालाई अगाडि ल्याउन जरुरी छ’, अपिलमा लेखिएको छ ।

अपिलमा पार्टीभित्र ‘अभिभावकको सम्मानजनक भूमिका’ निभाउँदै पुराना नेताहरूले नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्ने जोड दिइएको छ। ‘समाजवादी पार्टीभित्र नेतृत्व हस्तान्तरणमार्फत जेन-जी पुस्ताको मुद्दा र आन्दोलनलाई संगठनमार्फत संस्थागत गर्न सकियो भने, हाम्रो पार्टीले रूपान्तरणसहितको वाम एकताको नेतृत्व गर्न सक्छ,’ अपिलमा भनिएको छ।

‘अब ढिलाइ गर्नु हुँदैन, तत्काल पार्टी पुनर्गठन र पुस्तान्तरणको कार्ययोजना बनाएर अगाडि बढ्नु नेतृत्वको जिम्मेवारी हो’, अपिलमा उल्लेख छ ।

पार्टी नेतृत्वले भने यो अपिलबारे औपचारिक प्रतिक्रिया दिएको छैन। सो पार्टीकी नेतृ रामकुमारी झाँक्रीले भने आफू युवाहरूको साथमा रहेको प्रतिक्रिया जानाउनुभएकाे छ ।