जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार १३:०५

केन्द्रीय कमिटी बैठकअघि झलनाथको अडान : एमालेबाट विद्रोह गर्नुको औचित्यको पुष्टि नहुँदै माओवादीसँग एकतामा जान सकिँदैन


काठमाडौं, कात्तिक १२। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेबाट विद्रोह गर्नुको औचित्य बैठकले नुहँदै माओवादीसँग एकता गर्न नसकिने बटमलाइन सुनाउनु भएको छ ।

खनालले बिद्रोहको पुष्टि गर्नुपर्ने भन्दै यस्तो बताउनु भएको हो । केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले एमाले विभाजनको औचित्य पुष्टि गर्न नसकी माओवादीसँग एकताको कुरा गर्न उपयुक्त नहुने बताउनु भयो ।

‘हामीले विद्रोह किन र के कारणले गरियो भन्ने कुरा खोज्नुपर्छ । अहिले पनि सबै वामपन्थी एकताबद्ध हुनुपर्छ भन्नेमा छु । दुईटा वामपन्थी मात्रै एक भएर हुँदैन । अहिले कार्यगत एकता गर्नुपर्छ । विचार, सिद्धान्त, नीति कार्यक्रम र सङ्गठनमा एकरूपता भयो भने मात्रै एकता हुन्छ,’ खनालले भन्नुभयो ।

खनालले थप्नुभयो, ‘एमालेबाट विद्रोह गर्नुको औचित्यको पुष्टि नहुँदै माओवादीसँग एकतामा जान सकिँदैन ।’ पार्टी एकता भनेको कुनै खेलाँचीको विषय नभएको पनि प्रष्ट पार्नुभयो । कार्यगत एकताका लागि आफूहरू सबै वामपन्थी पार्टीहरूसँग खुला रहेको तर एमालेबाट विद्रोह गरेको चार वर्षसम्ममा पनि नेतृत्वले औचित्य पुष्टि गर्न नसकेको उहाँको भनाई छ ।