जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार १४:०३

एमालेसँग एकताको कुरा गर्नेहरू पार्टी छाडेर गए हुन्छ : माधव नेपाल


काठमाडौं, कात्तिक १२ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान आग्रह गर्नुभएको छ।

बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा उहाँले एमालेविरुद्धको विद्रोहको औचित्य थिएन भन्नेहरूलाई अध्यक्ष केपी शर्मा ओलीका सामु लम्पसार पर्न जान सुझाव दिनुभयो।

उहाँले भन्नुभयो, ‘एमालेविरुद्धको विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन। हाम्रो विद्रोहको औचित्य पुष्टि भइसकेको छ। विद्रोहको औचित्य थिएन भन्नु भनेको केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) खोल्नु कुनै गल्ती नभएको स्पष्ट पार्दै भन्नुभयो, ‘चुनौतीहरू आइरहेका छन्, ती चुनौतीहरूको सामना गर्नुपर्छ। हामीले सधैं चुनौतीको सामना गर्दै आएका छौं।’

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूहरूलाई लगातार अपमान गरेको उल्लेख गर्दै अहिले पनि ओलीको व्यवहार नबदलेको बताउनुभयो। ओली नसुध्रिएको कारण पार्टी एकता सम्भव नभएको बताउँदै उहाँले भन्नुभयो, ‘यदि ओलीलाई कसैले सुधार्न सक्छ भने त्यसका लागि हामी विशेष जिम्मा दिन तयार छौँ ।’

अध्यक्ष नेपालले जेन–जी आन्दोलनपछि देशको राजनीतिक परिस्थिति बद्लिएको बताउनुभयो। उहाँका अनुसार, ‘जेन–जी आन्दोलनले सत्तामा रहेका अहंकारी प्रधानमन्त्रीलाई सत्ताच्युत गरेको छ, त्यसैले हाम्रो विद्रोह ठीक थियो भन्ने कुरा त्यो आन्दोलनले पनि पुष्टि गरिदिएको छ।’

केन्द्रीय समिति बैठकमा उहाँले नयाँ पार्टी खोल्नु आत्मसमर्पणको विरोधमा उठाइएको सही कदम भएको दाबी गर्नुभयाे । उहाँले थप भन्नुभयो, ‘केपी ओलीका सामु लम्पसार र आत्मसमर्पण गर्न अस्वीकार गरेर हामीले त्यो प्रवृत्तिका विरुद्ध जुध्ने साहस देखाएका हौँ, त्यसैले हामीले दल खोल्नु ठीक निर्णय थियो, र आउने चुनौतीको सामना गर्न तयार छौँ।’

उहाँले एमालेसँग मिल्नु पर्छ भन्नेलाई भिरबाट लड्नेलाई राम राम मात्र भन्न सकिने बताउनुभयाे ।